Logo

कृषि बजारका अध्यक्षसहित तीन विरुद्ध भ्रटाचार मुद्दा



काभ्रे, ७ माघ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तामाघाटस्थित मसलाबाली विकास केन्द्र (बागबानी)को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करीब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टाचार आरोपपत्रमा श्रेष्ठले वषौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको बताइएको छ ।

साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसूर उपर सजाएको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम सजायाँको माग दाबी गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्