Logo

मदन भण्डारी मार्ग निर्माण तीव्र हुँदै



राजविराज, ७ माघ । राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले जानकारी र्दिए । सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडौंले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम शुरु गरेको छ । यस आर्थिक वर्षमा चार करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौंले तत्काल सो सडकमा मोटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ ।

ती सडकमा अहिले टिपर र ट्र्याक्टरबाट माटो खसाउने काम भइरहेको छ भने कालोपत्रका लागि तयारी गरिएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए । रु एक करोडको ठेक्का पाएका नीरज जोशीले मदन भण्डारी मार्ग अन्तर्गत तिरमार्गदेखि शिवालय मन्दिर हुँदै चर्खियासम्मको करीब ७०० मिटरसम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम शुरु गरिएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोडमा रुपनगर चोकदेखि शिवालय चोकसम्म करीब ७०० मिटर कालोपत्र सम्पन्न गरेको थियो । त्यपछि सो सडकखण्डमा बाँकी सडक निर्माण भइरहेको जनाइएको छ । रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्म निर्माण भइरहेको सो मार्गको लम्बाइ १३ किलोमिटर छ । सो मार्ग रुपनगर चोकदेखि चर्खिया, वसन्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ भएर पहाडी मार्गसम्म जोडिने छ । रासस



प्रतिक्रिया दिनुहोस्