Logo

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने



काठमाडौ, माघ ८ । इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन्।

नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक÷दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ÷दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने जानकारी दिए ।

प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारी देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्ने उनको भनाइ छ । नेपालबाट इजरायल सरकारले केयर गिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो ।

गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायलका परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिक सरहको सेवा सुविधा दिने गरी श्रम सम्झौता भएको थियो । श्रम मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरेको जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्