Logo

बैंकमा पनि कोटामा काम



गोरखा, माघ ८ । राष्ट्रिय वाणिज्य बैंकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना सोमबार बिहान भित्र पस्नै नपाई फर्किए । अनेक बिन्तीभाउ गर्दा उनीहरूलाई सुरक्षागार्डले भने, ‘क्यासियर सापले कसैलाई भित्र नपठाऊ भन्नुभएको छ । तपाईंहरू भित्र गए मैले गाली खान्छु ।’

धेरै चिन्ता गर्नेलाई उनी थप जवाफ दिइरहेका थिए, ‘क्यासियर सापको सरुवापत्र आएको छ । त्यसैले उहाँले काम गर्न छाड्नुभयो । अब पछि आउनू ।’क्यासियर विराटकिशोर श्रेष्ठले माघ १ गतेदेखि काम गर्न छाडेका बैंकले जनाएको छ । ‘बरबुझारथको प्रक्रिया चलिरहेकाले अहिले कर्जा प्रवाह रोकिएको हो’, शाखा प्रबन्धक कपिल कार्कीले भने ।
त्यसो त सोमबार मात्र होइन, सुन धितो राखेर कर्जा लिन जानुभयो र तपाईं लाइनको ११ औं नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ । जति बिन्तीभाउ गर्नुस्, गार्डको एउटै जवाफ हुन्छ, ‘क्यासियर सापले १० जनाभन्दा एक जना पनि भित्र नपठा भन्नुभएको छ ।’ पठाए आफूलाई कराउने उनले बताए ।

क्यासियर श्रेष्ठको आदेशअनुसार १० जनाले मात्र प्रवेश पाउँदा टाढा–टाढाबाट आएका सेवाग्राही बाहिरको बाहिरै पर्ने गरेका छन् । ‘नजिकैबाट आएकालाई त फेरि भोलिपल्ट पनि आउँदा केही फरक नपर्ला ।

तर, टाढाबाट आउनेहरू त्यति कामका लागि होटलका बस्नुपर्ने हुन्छ’, दिनहूँ उनीहरूको समस्या देखिरहेका स्थानीय आत्माराम श्रेष्ठले भने, ‘चिनेजानेकाहरूले चाहिँ टेलिफोन गरेर सोर्सफोर्स लगाएर जसरी पनि काम पट्याउँछन् । टाढाबाट आउने सर्वसाधारणले सास्ती पाएका छन् ।’ साधारण कामका लागि क्यासियर श्रेष्ठका कारण आफूले बारम्बार सास्ती पाएको उनले बताए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्