Logo

ओलीले प्रचण्ड र माधव नेपाललाई जेल हाल्न खोजेकै हुन् ?



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रममा जेलको प्रसंग पनि उठ्न थालेको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेल हाल्न खोजेको आरोप लगाइसकेका छन् । उनले आज शक्ति प्रदर्शनका क्रममा पनि जेलकै प्रसंग उठाए ।

नेपालले यसपटक ओलीलाई जेल हाल्ने चेतावनी दिए । उनले सभालाई सम्बोधन गर्ने क्रममा ओली सच्चिएनन् भने जेल हाल्ने चेतावनी दिएका हुन् । ललिता निवास प्रकरणमा माधव नेपाललाई मुछेर जेल हाल्न खोजिएको विषय विगतमा पनि उठेको थियो । ओली निकट नेकपा नेता कर्ण थापाले माधव नेपाल जेल जाने अभिव्यक्ति दिएका छन् ।

आजकै सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले आफूलाई ओलीले जेल हाल्न खोजेको संकेत गरेका छन् । उनले भने,‘ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको छ ।’ आफूलाई अपराधी बनाएर जेल हाल्न खोजेको प्रचण्डको संकेतका रुपमा यसलाई विश्लेषण गरिएको छ ।

हिजो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानवअधिकारको गम्भीर उल्लंघन भएको जनयुद्धकालिन घटनामा आममाफी दिन नसकिने अभिव्यक्ति दिएका छन् । जनयुद्धकालीन घटनामा प्रचण्डविरुद्ध समेत कारबाही बढाउन सक्ने संकेतका रुपमा यसलाई बुझिएको छ ।

नेकपा विभाजनपछि नेताहरुले एकले अर्कालाई जेल हाल्ने सम्मको विषय उठाउनुलाई गम्भीरताका साथ लिइएको छ । विभिन्न आरोपहरु लगाएर एक अर्कालाई जेल सम्म पुर्याउने प्रयास भएमा आश्चर्य नमाने हुने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्