काठमाडौं, माघ १० । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार तयार पारेको सरकारको वार्षिक प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने कार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७६(७७ मा सरकाबाट भएका कार्य तथा प्राप्त उपलब्धि र शासकीय सुधार एवं सुशासन सम्बन्धमा भएका कार्य समेटेर तयार पारिएको सो प्रतिवेदनमा राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयन कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याएको जनाइएको छ ।
प्रतिवेदनअनुसार राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीतिहरूको कार्यान्वयनबाट नीतिगत तथा कानुनी क्षेत्रमा व्यापक सुधार भएको छ । यसैगरी सोही अवधिमा सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नावी, कुटी, गुन्जीलगायत कालीनदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरिएको छ । नेपालको संविधानको दोस्रो संशोधनबाट नेपालको अद्यावधिक नक्सा र निशान छापसमेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनका अनुसार गत एक वर्षमा मात्रै सीमा सुरक्षा र व्यवस्थापन गर्ने उद्देश्यले नेपाल–भारत सीमामा ४१० वटा नयाँ सीमास्तम्भ निर्माण गरिएको छ । त्यसैगरी भत्किएको अवस्थामा रहेका ६५ वटा सीमास्तम्भको मर्मत गरिएको छ । यस्तै सीमा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टको संख्या पनि ३६ वटा थप भई कुल १४३ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सोही अवधिमा केन्द्रीय स्तरमा एकीकृत रणनीतिक सुरक्षा योजना स्वीकृत भएको छ भने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि आवश्यक गृहकार्य थालिएको आजको राजधानी दैनिकमा खवर छ ।