Logo

यति कार्पेटलाई पुरानै लयमा फर्काइँदै



काठमाडौं, माघ ११ । कार्पेटको बजारमा करीब आधा अंश ओगटेको यति कार्पेट ३ वर्षअघि भीषण आगलागीबाट पूर्णरूपमा प्रभावित भयो ।आगलागी हुँदा ४० करोडभन्दा बढीको क्षति केडिया अर्गनाइजेशनले बेहोर्नुपर्‍यो । व्यावसायिक जगत्मा पुरानो घरानाका रूपमा लिइने केडिया अर्गनाइजेशनले अहिले ५० करोडको लगानीमा यति कार्पेटलाई पुरानै लयमा फर्काउने प्रयास गरेको छ ।

आगलगीबाट क्षतिग्रस्त भएको उक्त उद्योगलाई नयाँ प्रविधिका साथ क्षमता विस्तार गरी गत महीनाबाट पुनः सञ्चालनमा ल्याउन सफल बनेको केडिया अर्गनाइजेशनका अध्यक्ष एवम् उद्योगपति अनिल केडियाले अभियान दैनिकलाई बताए ।

उनका अनुसार आगलागीबाट उद्योगमा भएको कच्चा पदार्थदेखि उपकरणसम्म ध्वस्त हुन पुगेको थियो । अहिले लगानी थपेर नयाँ उपकरण जडान गरी उद्योगको क्षमता पहिलेको तुलनामा दोब्बरभन्दा बढी बनाइएको छ ।

‘पहिले १ लाख २५ हजार मीटर उत्पादन क्षमता थियो । अहिले ३ लाख मीटर कार्पेट उत्पादन गर्न सक्छौं । उत्पादन समय र लागत दुवै कटौती भएको छ,’ अनिलले भने । उनका अनुसार यति कार्पेट उद्योग परिसरमा अहिले बुट्टारहित र बुट्टा कोरिएको गरी दुई खाले कार्पेट उत्पादन गर्ने बेग्लाबेग्लै प्लान्ट स्थापना गरी उत्पादन क्षमता बढाइएको छ ।

बजार विस्तारलाई समेत यति कार्पेटले पहिलेको तुलनामा अझ अघि बढ्ने किसिमले अघि बढाएको केडिया बताउँछन् । ‘रेमिट्यान्सले अहिले शहरमा भन्दा गाउँमा व्यापार बढाएको छ, हामीले बजार विस्तारलाई गाउँ केन्द्रित बनाउन बढी जोड दिएका छौं,’ केडिया भने ।

उद्योगका अनुसार आठओटा मुख्य डिलरमार्फत देशभर ६ सयभन्दा बढी सहायक डिलरमा यति कार्पेट ‘सेल’ भइरहेको छ । आगलागीपछि सञ्चालनमा आएको यति कार्पेटले पहिलो महीनामा ६ करोडको कारोबार गर्ने लक्ष्य राखेको थियो, ५ करोडको आसपासमा कारोबार हुने केडियाले बताए । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्