Logo

घट्यो प्रहरीमा आकर्षण



काठमाडौं, माघ १२ । प्रहरीमा जवानदेखि निरीक्षकसम्म भर्नाका बेला एकै प्रश्न सोधिन्छ– ‘तपाईंले प्रहरी पेसा नै किन रोज्नुभयो?’ केहीले देशको शान्ति–सुरक्षा गर्न पाउनु गौरवको विषय भएको जवाफ दिन्छन्। केहीले इज्जत र प्रतिष्ठासँग जोड्छन् त केहीले संयुक्त राष्ट्रसंघीय मिसनसँग जोडेर आर्थिक समस्या टार्ने कुरा उठाउँछन्।

प्रहरी जनशक्ति शान्ति–सुरक्षामा खटिएकै छन्। मिसनमा गएकै छन्। तर, सरकारले बेलाबेला खुलाइरहेको भर्ना प्रक्रियामा आवेदन संख्या हेर्दा आकर्षण भने घट्दो देखिन्छ। प्रहरी प्रधान कार्यालयले २०७४ देखि २०७६ सम्म जवानका लागि तीन पटक भर्ना खुलायो। २०७४ साउन ३१ गते ७ सय ६७ जना जवान माग गरिएकामा ४४ हजार ३ सय ५५ जनाको आवेदन प¥यो। २०७५ असोज १५ मा ६ हजार २ सय ४४ जना माग गरिएकामा ४१ हजार ८ सय ७१ जनाले आवेदन दिए। तुलनात्मक रूपमा धेरै पदमा भर्ना खोल्दा आवेदन उत्तिकै बढ्नुपर्ने प्रहरी मुख्यालयको बुझाइ रहे पनि त्यसअनुरूप हुन सकेन। जवानकै लागि २०७६ भदौ ६ गते ३ हजार ५ सय ९६ जनाको भर्ना खुलाइएको थियो। तर, ३९ हजार ७ सय ३४ जनाले मात्रै आवेदन दिए।

सहायक निरीक्षक (असई) भर्नामा पनि अपेक्षाअनुरूप आवेदन आएन। २०७३ देखि २०७५ सम्म तीन पटक क्रमशः ५ सय ५१, ३ सय १४ र ५ सय २४ जना भर्नाका लागि आवेदन मागिएको थियो। २०७३ मा १८ हजार ९ सय ६५, २०७४ मा १६ हजार ६ सय ६३ र २४ हजार १५ जनाले आवेदन दिए। तुलनात्मक रूपमा यो संख्या पनि कम भएको बुझाइ मुख्यालयको छ।

प्रहरी निरीक्षक भर्नामा पनि उस्तै देखिन्छ। २०७३ जेठमा ८६ जना माग गरिएकामा २ हजार ८ सय ४५, २०७४ साउनमा ९१ जना माग गरिएकामा २ हजार ५ सय ३९ जनाले मात्रै आवेदन दिए। २०७५ असोजमा पुनः प्रहरी निरीक्षक माग भयो। १ सय ८ जना माग हुँदा धेरै आवेदन आउने अनुमान मुख्यालयको थियो। तर, ठीक उल्टो भयो। जम्मा २ हजार ६ सय ८१ जनाले आवेदन दिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकम खवर छ ।



प्रतिक्रिया दिनुहोस्