Logo

वालुवाटारमा पानीको फोहोरा र लाठीचार्ज, २६ जना पक्राउ (भिडियोसहित)



माघ १२, काठमाण्डौ । प्रतिगमनविरूद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पानीको फोहोराले हानेको हो । बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । तर बालुवाटार नपुग्दै प्रहरीले रोकेको हो ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिएका छन् ।

घाइतेको उपचार भइरहेको छ । कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो । संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन् ।

मानवअधिकारकर्मी पनि आन्दोलनमा
संसद बिघटनबिरुद्ध बालुवाटारमा प्रदर्शन गर्न खोज्ने मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बर्तमान सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री÷मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति बिरुद्ध भन्दै मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमाा प्रदर्शन गर्न खोजेको थियो ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल लगाएत २६ जनालाई पक्राउ गरेको समााजले जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली : आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

मानवअधिकार तथा शान्ति समाजले केपी ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो । संसद विघटन गरिएपछि अधिकारकर्मीहरुदले दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्