Logo

उदयपुर सिमेन्टको उत्पादन पुनः नियमित



काठमाडौं, माघ १३ । उदयपुर सिमेन्ट उद्योगबाट नियमित रूपमा सिमेन्ट उत्पादन हुन थालेको छ । कोरोना भाइरस का कारण बन्दाबन्दी र कच्चा पदार्थ उपलब्ध नहुँदा छिटपुट रूपमा उत्पादन हुँदै आएको सिमेन्ट आइतवारदेखि नियमित हुन थालेको हो ।

लामो समयदेखि महाप्रबन्धकविहीन रहेको उद्योगका अधिकांश काम रोकिएका थिए । पुस अन्तिम हप्ता नियुक्त भएका महाप्रबन्धक गोपिकृष्ण न्यौपानले तत्कालै उत्पादन क्षमता बढाउनेभन्दा पनि नियमित उत्पादनलाई जोड दिएको बताए । ‘म आउनुपूर्वका केही दिन उद्योगबाट सिमेन्ट उत्पादन शून्य रहेको थियो,’ न्यौपानेले भने, ‘यहाँ रहेका कर्मचारीका समस्या, स्किमको व्यवस्थापन र पारिश्रमिकका साथै मर्मतसम्भार पनि गर्ने विषय अघि बढिसकेको छ ।’

सिमेन्ट उत्पादनमा कमी हुँदा विक्री पनि स्वतः कम भएकाले अहिले केही फन्डको प्रयोगबाट पारिश्रमिक विषय व्यवस्थापन गरिएको उनको भनाइ छ । यद्यपि, विद्युत् महसुल तथा राजस्वबापतको ५० करोड दायित्व उत्पादन हुँदै गएपछि भुक्तानी गर्दै जाने न्यौपानेले जानकारी दिए ।

उत्पादन क्षमतालाई दैनिक १२ सय टन पुर्‍याउनेतर्फ काम शुरू भइसकेको उनको भनाइ छ । उत्पादन शुरू गरेको र केही सिमेन्ट स्टकमा रहेकोले पनि हाल दैनिक ८ हजार बोरा सिमेन्ट विक्री हुँदै आएको छ । अहिले उत्पादन र विक्री दुवै शुरू भइसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्