काठमाडौं, १३ माघ । प्रतिनिधि सभा विघटनको विरुद्ध विज्ञप्ति नै जारी गर्ने चारजना पूर्व प्रधानन्यायाधीशहरुविरुद्ध अवहेलनाको निवेदन पेश भई दर्ता भएको छ । आज पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवेहलना मुद्दाको निवेदन पेश भएको हो ।
चारैजनाविरुद्ध कुमार शर्माले अवहेलना मुद्दा दर्ता गरेका हुन् । उनीहरुमाथि अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्नेगरी विज्ञप्ति प्रकाशित गरेको विषय उल्लेख छ ।
यसैगरी, पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आज राजाराम घिमिरेसहित दुईजनाले उनीविरुद्ध अवहेलना गरेको भन्दै निवेदन दिएका हुन् ।
आजै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अवहेलना मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आइतबार र सोमबार पेश भएका दुई छुट्टाछुट्टै अवहेलनासम्बन्धी मुद्दा मंगलबार दर्ता भएका हुन् ।