Logo

लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने



काठमाडौ, माघ १४ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।

कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।

सरकारी तथा निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो । चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार आयोजना प्रवद्र्धक कम्पनीले यो वर्ष कोरोना महामारीको प्रभाव झेल्नुपरेको देखिएको छ । “प्रवद्र्धक कम्पनीहरूले अपेक्षा गरेअनुसार विदेशबाट प्राविधिक ल्याउन समस्या झेल्नुपरेको देखिन्छ,” उनले भने, “विश्वमा विभिन्न स्थानमा भएका बन्दाबन्दीले प्राविधिक उपकरणसमेत ल्याउन सकेनन् ।” खासगरी चिनियाँ प्राविधिक तथा कामदार कोरोना महामारीका कारण कार्यस्थलमा फर्कन नमान्दा प्रवद्र्धकहरूले समस्या झेल्दै आएका हुन् । त्यस्तै रसुवागढी नाकाको अवरोधले पनि कतिपय आयोजनाका सामान नेपाल आउन सकेका छैनन् ।

विभागको संशोधित आकलनअनुसार चालू आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ । स्वदेशी लगानीमा निर्माणाधीन सो आयोजनाबाट चैतभित्र एउटा युनिटबाट
आंशिक विद्युत् उत्पादन थाल्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्