काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा देशव्यापी आन्दोलनमा होमिईसकेकोले अब त्यसबाट पछि नहट्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
कुराकानीको सुरूवातमै पत्रकार धमलाले ‘तपाईँले शेरबहादुर देउवालाई कन्भिन्स गरेर आन्दोलनको कार्यक्रम त घोषणा गर्नुभयो, तर संसद् पूनःस्थापना कि निर्वाचन भन्नेबारे काँग्रेस किन अन्यौल भयो ? भन्नुहोस् त ?’ भनेर सोधेको प्रश्नमा नेता पौडेलले भने–‘हैन्, प्रतिनिधिसभा पूनःस्थापना नै हो हाम्रो माग हो । हामीले प्रतिनिधिसभा पूनःस्थापनाकै माग गरेर आन्दोलन गर्ने भएका छौं।’
तर, पार्टी सभापति देउवा किन त्यसको लागी तयार हुनुभएन त ? भन्ने अर्को प्रश्नमा पौडेलले देउवा पनि आन्दोलनकै पक्षमा रहेको दाबी गरे । उनले थपे–‘हैन्, उहाँपनि यसको पक्षमा हुनुहुन्छ । उहाँलेपनि यसमा अन्यथा भन्नुभएको छैन । हैन प्रष्टै छ–अहिलेसम्म हाम्रो आन्दोलन नै त्यही हो ।’
उनले सभापति देउवाले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई नै सदर गरिदियो भने चुनावमा जानुपर्ने कुरा गरेको तर्क गरे । अन्यथा, सभापति देउवा पनि ओलीको असंवैधानिक कदमको विरुद्धमा नै रहेको पौडेलको जिकिर छ । उनले भने–‘होइन सभापतिले भनेको यत्तिमात्रै हो कि–अदालतले कथमकाल त्यसलाई (संसद विघटन) लाई नै सदर गरिदियो भने चुनाव त लड्नुपर्ला नि भन्ने खालको कुरामात्रै हो । उहाँले प्रतिनिधिसभा पूनःस्थापना हुन हुँदैन भनेर कहाँ भनेको हो नि ? । उहाँले निर्वाचनमै जाने भनेर कहाँ भन्नुभएको छ ? नत्र आनदोलन नैै किन हुन्थो यत्रो दिनसम्म ?’
उनले हिजो बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले त आन्दोलनका थप कार्यक्रमहरू नै सार्वजनिक गरेको उल्लेख गर्दै ओलीको संसद विघटन कदम असंवैधानिक रहेको जिकिर गरे । उनले अघि थपे–‘हिजोको बैठकले ठोस निर्णय गरेको छ, प्रतिनिधिसभा विघटन चाहीँ असंवैधानिक छ, अलोकतान्त्रिक छ, यसको विरुद्वमा हामी संघर्ष गर्छौं । आन्दोलन गर्छौं । हाम्रो आन्दोलन संसद पूनःस्थापनकै पक्षमा हुनेछ । हिजोको बैठकमा पनि मैले प्रष्ट रुपमा हाम्रो आन्दोलन भनेको जब असंवैधानिक कदम हो भनेपछि त्यसको परीणाम संवैधाािक गर्नु त हो नि । त्यसकारण हामी यस्तो द्धिविधामा छैनौ भनेर त्यहाँ भनेकै हो ।’
पत्रकार धमलाले ‘तपाईँ र कृष्णप्रसाद सिटौलाले त प्रदेश र केन्द्रमा ठूलो–ठूलोे सभा गर्नुपर्छ भर्ने पक्षमा हुनुहुन्थ्यो । तर, पार्टी सभापतिले त्यस्तो चाहनुभएन नि ?’ भनेर राखेको अर्को प्रश्नमा पौडेलले प्रष्ट्याए–‘त्यो के भयो भनेपछि यो माघ महिनामा हामीले क्रियाशिल सदस्य टुङग्याउने भनेका छौं । हामीलाई दोहोरो जिम्मेवारी छ अहिले, एकातिर पार्टीको अधिवेसन पनि गर्नुछ । यो ओलीको प्रतिगमनविरुद्ध आन्दोलन पनि गर्नुछ । दुईवटै काम हामीले संगै गर्नुपर्ने भएको हुनाल अहिले सन्तुलन मिलाएका छौं । र, यो माघ महिनामा हाम्रो सारा केन्द्रीय सदस्यहरु आ–आफ्नो जिल्लामा जाने त्यहाँ क्रियाशिल सदस्यता टुँगो लगाएर पठाउने सबै लागेर माघ महिनाभित्रमा हाम्रो पार्टीको सबै साथीहरू मिलेर क्रियासिल टुङगो लगाएपछि हाम्रो पार्टीको अधिवेसनको बाटो खुल्छ । हाम्रो पार्टीको अधिवेसन गर्न सक्नुपर्ने भएको छ । यो हाम्रो पार्टीको अत्यन्त ठुलो समस्या छ । त्यसलाई पनि संगसंगै लिएर जानुपरेको भएको हुनाले यसभित्र हामीले अहिले ठुलो आन्दोलन गर्न सकिराखेको छैनौं ।’