रीसस (आर.एच्) फ्याक्टर रातो रक्तकोषिकाको बाहिरपट्टी पाइने एक प्रकारको प्रोटीन हो । उक्त प्रोटीन आनुवंशिक रुपले अभिभावकहरुबाट भावि सन्ततीहरुमा सर्दै जान्छ । यदि मानिसमा यो प्रोटीन छ भने त्यो आर.एच–पोजिटीभ हुन्छ, यदि छैन भने त्यो आर.एच–नेगेटीभ हुन्छ । धेरैजसो मानिसहरु लगभग ८५ प्रतिशत आर.एच–पोजिटीभ हुन्छन् । यसले स्वास्थ्यमा त्यति असर गर्दैन तर गर्भवती भएको बेला यसबारे जान्न जरुरी छ ।
आर.एच– पोजिटीभ भएको पुरुष र आर.एच–नेगेटीभ भएको महिलाबिच विवाह भयो भने तिनीहरुबाट जन्मिने बच्चामा असर पर्छ । यस्तो आमाबाबुको पहिलो आर.एच–पोजिटीभ बच्चा सामान्यतया कुनै खतरामा पर्दैन जबसम्म आमाले नमिल्दो रक्तक्षेपणको कारणले एन्टि–आर.एच एन्टिबडीहरु बनाउँदिनन् ।
आमाको गर्भमा आर.एच– पोजिटीभ भ्रुणको रगतमा रातो रक्तकोषले आर.एच–एन्टिजीन बोकेको हुन्छ ।
त्यो समयमा भ्रुणको आर.एच–एन्टिजीन बोकेको थोरै मात्र रगत आमाको रगतमा मिसियो भने आमाले एन्टि–आर.एच एन्टिबडीहरु बनाउँछिन । उक्त एन्टि–आर.एच एन्टिबडीहरुले उनको दोस्रो गर्भमा पनि आर.एच–पोजिटीभ बच्चा छ भने त्यो बच्चालाई आक्रमण गर्दछन् र ति एन्टिबडीहरुले आर.एच–एन्टिजीन बोकेको भ्रूणको रातो रक्तकोषलाई नष्ट गरिदिन्छन ।
यसको कारणले बच्चा रोगबाट ग्रसित हुन्छ उक्त रोगलाई एरिथ्रोब्लास्टोसिस फेटालीस भनिन्छ । जसको अर्थ जन्डिस हुन्छ । यसको कारणले शिशुको जन्मिनु भन्दा पहिले अथवा जन्मिसके पछि पनि मृत्यु हुन सक्ने सम्भावना बढी हुन्छ ।
यसबाट बच्न डाक्टरले गर्भवती महिलालाई उनको पहिलो गर्भमा दुइवटा आर.एच इम्युन–ग्लोबुलीन भ्याक्सिन क्रमैसँग लगाइदिन्छन । पहिलो पटक उनी गर्भवती भएको २८ औँ हप्तामा र दोस्रो पटक बच्चा जन्मेको ७२ घण्टाभित्र उनले यो भ्याक्सिनको प्रयोग गरिसकेको हुनुपर्छ । यो भ्याक्सिनको प्रयोगले आमाको शरीरमा आर.एच एन्टिबडी बन्नबाट रोक्छ र बच्चाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दैन । एजेन्सीको सहयोगमा