Logo

चिनीको मौज्दात सकिन लाग्यो



काठमाडौं, माघ १६ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।

साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन ।

यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला १ हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरीद अनुमति नदिनु दुःखद कुरा भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मौज्दात पर्याप्त राख्न र बजार मूल्य नियन्त्रण गर्न हामीले दशैंअघि नै खरीद अनुमति माग्दा पनि अहिलेसम्म अनुमति पाउन सकेनौं जसको असर अहिले बजार मूल्यमा परिरहेको छ,’ उनले भने ।

चिनीको मौज्दात रित्तिने क्रममा रहेको भएपनि साल्टले खरीद अनुमति पाउन अझे करीब डेढ महीना लाग्न सक्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यति बेला नेपाली चिनी उद्योगहरूले उखु क्रशिङ गरिरहेकाले आन्तरिक उत्पादन कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।

फागुनको अन्तिम सातासम्म क्रशिङको काम सकिएर आन्तरिक उत्पादनको परिमाण थाहा भएपछि मात्र बाहिरबाट कति आयात गर्ने भन्ने कुराको टुँगो लाग्ने हुँदा त्यहीअनुसार साल्टलाई खरीद अनुमति दिइने उनले बताइन् ।

सरोकारवालाहरूका अनुसार सामान्य अवस्थामा नेपालमा प्रतिमहीना करीब ३० हजार टन चिनीको खपत हुने गर्छ । त्यसैगरी दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वका समयमा मात्र ७० हजार टनसम्म चिनीको खपत हुने अनुमान गरिएको छ । नेपाली चिनी उद्योगहरूले वार्षिक १ लाख ८० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने गरेको सरकारी तथ्यांक छ भने अपुग चिनी भारतलगायत देशबाट आयात गर्ने गरिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्