Logo

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार



काठमाडौं, माघ १६ । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । “सबै तयारी तोकिएकै समयमा पूरा भएमा फागुनदेखि प्रिपेड कार्ड कार्यान्वयनमा आउनेछ,” उनले भने । नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैङ्कले अनलाइनमार्फत विदेशबाट सेवा आयात गर्दाबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।

कार्डको प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको पढाइ, तालिम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरिद गर्न, डोमेन दर्ता तथा वेब होस्टिङ गर्न डलरमा पैसा तिर्ने सकिनेछ । स्वास्थ्य र निरोगी रहन सहयोग पु¥याउने विभिन्न एपहरूको माग गर्न, विभिन्न जर्नल तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय पुस्तकहरू खरिदका लागि समेत सानोतिनो रकम तिर्न पनि नयाँ व्यवस्थाले सहज बनाउने भएको छ । राष्ट्र बैङ्कले बढीमा ५ सय डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न लागेको छ ।

पछिल्लो समयमा फेसबुक, ट्विटर, युट्य्ुब, गुगलजस्ता माध्यमबाट गरिने विज्ञापन लगायतका भुक्तानीको प्रचलन बढ्दै गएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको मिश्रले जानकारी दिए । “डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो,” उनको भनाई छ ।

केन्द्रीय बैङ्कले चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नै विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरेको थियो । विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउनेछन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्