म्याग्दी, माघ १६ । म्याग्दीस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो ।
दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।”
यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ । जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ ।
उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको जानकारी दिए। उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ । “२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ”, अध्यक्ष सुवेदीले भने, “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले रु १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ ।
फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताए । धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको छ ।
जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताए । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ ।
पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए। ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ ।रासस