Logo

चहर्‍याइरहेको घाउमा मलम लगाऔँः प्रधानमन्त्री



काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन्। मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्वार अभियानको शुक्रबार समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गरे।

प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवान्का दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवान्को दूत बनेर आएको प्रतिक्रिया दिए। प्रधानमन्त्रीले भने,“उहाँहरु साँच्चै नै देवताले पठाएका मान्छे जस्तो लाग्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर खोजीखोजी बेसहारालाई उद्वार गरी संरक्षण गर्नु सामान्य कुरा होइन, उहाँहरु भगवान्का दुत नै हुनुहुन्छ।”

गत पुस ७ गतेदेखि शुरु भएको मेचीमहाकाली सडक उद्वारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्वार गरेको छ। उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गरेका थिए। ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर शुरु गरिएको सरकारी अभियानमा बेसराको उद्वार र संरक्षण कार्यलाई एउटा महायज्ञको सङ्ज्ञा दिए। उनले महायज्ञको मण्डव भत्काउने तत्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराएका छन्। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अबरोध पुर्‍याउने तत्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गरे।

प्रधानमन्त्री ओलीले घाउमा पराल गडिएका व्यक्तिको उद्वार गरी उनीहरुलाई सामान्य जीवनमा फर्काउनु, नयाँ जीवनको सञ्चार दिनु, मानव समाजप्रति फैलाएको घृणाभाव समाप्त पार्दै मानवताप्रतिको आस्था जगाउनु सामान्य कुरा नभएको बताए। ‘सेवा नै परमोः धर्म’ भन्ने उक्तिको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो भन्दा ठूलो पुण्य कार्य अरु केही हुनै नसक्ने बताए। देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ’ यात्री भन्ने कविताले आज सार्थकता पाएको महसुस भएको उनले बताए। मन्दिरमा जानुभन्दा चहर्‍याइरहेको घाउमा मलम लगाउन प्रधानमन्त्रीले सबैमा अनुरोध गरे।

विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवरिहत बनाउने सङ्कल्प सरकारले लिएको स्मरण गराउँदै यस्ता अभियानले उक्त घोषणालाई सार्थक बनाउने प्रधानमन्त्री ओलीको धारणा थियो। प्रधानमन्त्री ओलीले सरकारी तवरबाट भएको भए ६०० जनालाई सडकबाट उद्वार गर्न दशौँ करोड लाग्ने तर त्यही काम मानवसेवा आश्रमले सहज रुपमा सम्पन्न गरेकोमा प्रशंसा गरे। उनले आश्रमले यो अभियान किन चलाउनुपर्‍यो भनेर बुझ्न सरकारी निकायसँग आग्रह गरे।

उनले सरकारी निकायमा तनखा बाहेक एउटा बैठक बसेमा भत्ता खाने प्रवृत्तिप्रति व्याङ्ग्य गर्दै आश्रमका युवाले विना भत्ता कर्तव्य पूरा नहुँदासम्म रातदिन खटिएर गरेको कामको प्रशंसा गरे। भत्ताका स्वयंसेवी नेपालमा देखेको भन्दै विना भत्ता नितान्त मानवीय सेवामा लाग्ने आश्रम परिवारलाई आधा मिनेट भने पनि ताली बजाएर सम्मान दिन मञ्चबाटै अनुरोध गरे। त्यसपछि हलमा उपस्थित सबैले आधा मिनेट ताली बजार आश्रमलाई सम्मान गरेका थिए।

प्रधानमन्त्री ओलीले आश्रमले यती धेरै मान्छे फेला पारे, सरकारी निकायले किन भेटिदैनन् भनेर प्रश्न गरे। उनले केही व्यक्तिलाई माइतीघरमा गएर मानवअधिकारका नारा लगाउन र राजनीति गर्दैमा फुर्सद नभएको प्रसङ्ग जोड्दै यसरी सडकबाट बेसहारालाई उद्वार गरेर संरक्षण गरेको हेर्न अनुरोध गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्