Logo

सातामा नेप्से ५० अंक बढ्दा कारोबार रकम ३० प्रतिशत बढ्यो



काठमाडौँ, १७ माघ: यस साता नेप्से परिसूचक ५०.६६ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन २३७४.६४ विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम कारोबार दिन २.१३ प्रतिशत बढेर २४२५.३० विन्दुमा पुगेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स भने ३.५४ अंक अर्थात ०.७९ प्रतिशत घटेर ४४२.०६ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स १.८३ प्रतिशत बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा यस साता कारोबार रकम ३० प्रतिशत बढेर ४४ अर्ब ४६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि २.४१ प्रतिशत बढेर ३२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वधिक ९.४० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ११ हजार ४८२.३१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १ हजार ७९.८५ अंक बढेर १२ हजार ५६२.१६ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। गत साता २५५५.९७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७८.९१ अंक घटेर २४७७.०६ विन्दुमा झरेको छ।पूँजीकरणका आधारमा यस साता नबिल बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई उछिनेको छ। गत साता तेस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीलाई यस साता नबिल बैंकले उछिनेको हो। शीर्ष स्थानमा भने नेपाल दूरसञ्चार कम्पनी नै रहेको छ। यस साता पूँजीकरणका आधारमा शीर्ष १० कम्पनीहरुको सूचीबाट एभरेष्ट बैंक बाहिरिएको छ भने प्राइम कमर्शियल बैंक भित्रिएको छ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्