Logo

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप



१८ माघ : भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ ।

भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए ।

“भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,” विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए ।

अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मङ्गोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।

“यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,” उनले भने ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन् ।-एएनआई/photo: Agency



प्रतिक्रिया दिनुहोस्