Logo

ईयूले खोप आपूर्ति नियन्त्रण गर्ने



एजेन्सी, १८ माघ । कोरोनाविरुद्धको खोप मागअनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका अवस्थामा युरोपेली संघ (ईयू) ले युरोपमा बनेको कोरोना भाइरसविरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

ईयू राष्ट्रहरूसँग गरेको सम्झौताअनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने युरोपेली संघसँग अधिकार रहेको छ । ‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको चुनौतीका कारण हामीले अन्य विकल्पबारे सोच्न सकेनौं,’ संघले भनेको छ ।उक्त प्रतिबन्धले यूके, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित करिब एक सय देश प्रभावित हुने बीबीसीले उल्लेख गरको छ ।

ईयूले तत्कालका लागि यस्तो निर्णय लिन आफू बाध्य भएको जनाउँदै स्थायी निर्यात प्रतिबन्ध नलगाइएको बताएको छ । तर, गरिबलगायत केही देश भने प्रतिबन्धमा परेका छैनन् । तीमध्ये गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका छन् । त्यसैगरी अन्य भूमध्यसागरीय देशहरू लेबनान र इजरायलमाथि पनि प्रतिबन्ध लगाइएको छैन ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकियसले प्रेस सम्मेलनमा बोल्दै ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्न तत्कालका लागि निर्यात प्रतिबन्ध लगाउनुपरेको बताइन् । उनले त्यसका लागि सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै भनिन्, ‘यो अवधारणा विश्वास, पारदर्शिता र जिम्मेवारीमा आधारित छ ।’खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको पूर्णरूपमा सम्मान गरिनुपर्ने उनको भनाइ छ । ‘हामीले ईयूबाट अन्य देशमा खोप निर्यात भएरनभएको थाहा पाउने प्रणाली विकास गरेका छौं,’ उनले भनिन् । यसै साताको सुरुमा ईयूले खोप निर्यातमा प्रतिबन्ध हुन सक्ने संकेत गरेको थियो ।

उत्पादनका विषयमा खोप उत्पादक अस्ट्राजेनेकाबीच विवाद उत्पन्न भएको समाचार सार्वजनिक भएसँगै ईयूले खोप वितरण नियन्त्रण गर्ने जनाएको हो । त्यसका साथै खोप वितरणको गति निकै सुस्त भएको भन्दै संघमाथि दबाब बढेको छ ।यसअघि युरोपेली आयोगले अस्ट्राजेनेकाले आफूहरूसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको जनाएको थियो । त्यसको पुष्टि गर्न ईयूले उक्त कम्पनीसँग भएको गोप्य सम्झौता नै सार्वजनिक गरेको थियो ।

नयाँ नियमअनुसार खोप उत्पादकहरूले ईयूभन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ । २७ सदस्य राष्ट्र भएको संघले त्यस्ता आवेदनको परीक्षण गर्न पाउनेछ । फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ । अर्को कम्पनी फाइजरले पनि सम्झौताअनुसार खोप आपूर्ति गर्न नसकेको ईयूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले ईयूको कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएको छ । उसका अनुसार यस्तो निर्णयले भाइरसको महामारी थप लम्बिने डब्लूएचओको दाबी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्