Logo

ओलीले फाल्लान् हिन्दुराष्ट्रको कार्ड ?



काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेपछि राजनीतिक तरंग आएको छ । गत हप्ताको सोमबार पशुपतिनाथको पूजा गरेका ओलीले चितवन पुगेर अयोध्यापुरीमा राम मन्दिर बनाउने घोषणा गरेर फर्किए । यसबीच उनी अध्यात्मिक विषयमा केन्द्रित रहेर अभिव्यक्ति दिइरहेछन् ।

ओलीले प्रतिनिधि सभा विघटन गराएपछि धर्मको विषयमा निरन्तर बोल्दै आएका छन् । यसले धर्मनीरपेक्ष जोखिममा परेको विषय उठ्न थालेको छ । आइतबार माइतीघर मण्डलाको विरोध कार्यक्रममा नेकपा प्रचण्ड नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले ओली हिन्दुराष्ट्र घोषणा गर्नेतर्फ लागेको अनुमान गरे । प्रचण्डले ओली धर्मनीरपेक्ष विरोधी भएको टिप्पणी गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्ला गतिविधिहरु धर्मसँग जोडिएको देखिदैछ । उनले हिन्दु राष्ट्रको अस्त्र प्रयोग गर्न लागेको हुनसक्ने अनुमान हुनु स्वाभाविक पनि हो । पछिल्लो समय ओलीलाई राजावादीको समर्थन बढेर गएको छ । कमल थापासँग उनले १६ माघमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । हिन्दुवादी र राजावादीले ओलीको कदमको खुलेर समर्थन गर्दै आएका छन् । यसलाई अर्थपूर्ण मान्नुपर्छ ।

२३ माघमा नेकपाको ओली पक्षले आयोजना गर्न लागेको सभामा विशेष घोषणा हुने शिक्षामन्त्री कृष्ण गोपालले बताइसकेका छन् । उक्त दिने ओलीले विशेष घोषणा गर्ने भएकाले ऐतिहासिक घटनाको अवसर गुमाउनुपर्ने हुनसक्ने समेत बताए ।

ओलीले हिन्दुराष्ट्रको मुद्दा उठाउनसक्ने अनुमान हुन थालेपछि नेपालस्थित पश्चिमा नियोगका अधिकारीहरुको सक्रियता बढेको छ । अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले प्रचण्ड र माधवकुमार नेपाललाई भेटेका छन् । पश्चिमा राष्ट्रहरु धर्मनीरपेक्षको पक्षमा छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीले नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको विगत देखि नै उठ्दै आएको थियो । नेताहरुसँगको अनौपचारिक भेटमा यो विषय भाजपा नेताहरुले उठाउने गर्थे । अहिले ओलीले यो विषय उठाउने संकेतहरु गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको सत्तापक्षको साथ पाउन र नेपालभित्रको जनमतलाई आफ्नो पक्षमा ढाल्न पनि ओलीले हिन्दु राष्ट्रको अस्त्र फाल्न सक्ने सम्भावना बलियो बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्