Logo

पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला



गलकोट, २० माघ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।

निसीखोला गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्यूठानसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि गाउँपालिकाले योजना अगाडि ल्याएको निसीखोला गाउँपालिकाले जनाएको छ । प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरी, पूर्वी रुकुम र निसीको सिमानामा अवस्थित रिगताल, गाउँपालिका–३ मा रहेको नौ बहिनी छहरा, वडा नं ५ मा रहेको कोठेभिर, वडा नं ७ को नरसिंहकोट, वडा नं २ को अर्नाकोट, वडा नं ५ को निसेलढोरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना पहिचान गरेर पूर्वाधारसँगै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।

नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, नरसिंहकोट, अर्नाकोट, निसेल ढोरपाटन, रिगतालमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार पार्ने काम शुरु गरिसकेको गाउँपालिकाले जनाएको छ । वडा नं ७ मा रहेको नरसिंहकोटमा गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरेर पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले जानकारी दिए ।

गाउँपालिका तथा केन्द्र सरकारबाट विनियोजन भएको रकमबाट नरसिंहकोटमा रेलिङसहितको पदमार्ग निर्माण, शौचालय, धारोलगायतका पूर्वाधार निर्माण गरिएको अध्यक्ष कुँवरको भनाइ छ । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये धेरैजसो स्थान मोटरबाटोले जोडिएको र केहीमा अझै पुगेको छैन । सबै ठाउँमा सडक सञ्जालले जोड्नका लागि गाउँपालिकाले सर्वे गरेको छ ।

गाउँपालिकाबीच भागबाट मध्यपहाडी लोकमार्गले चिरेर रुकुम जोडिएको हुँदा धेरैजसो पर्यटकीय क्षेत्र लोकमार्गदेखि नजिक छन् । ती धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार गर्नेे काम शुरु गरिएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

गुरुयोजना निर्माणपश्चात् पालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीयस्थलको विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य समन्वय गर्ने अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्षमा हामीले पर्यटन क्षेत्रमा धेरै लगानी ग¥यौँ, त्यही अनुसारको बजेट पनि व्यवस्थापन ग¥यौँ, यसवर्ष बजेट प्रचारका लागि भनेर रकम विनियोजन भएको छ,” पौडेलले भने, “यस वर्ष हामी पालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारमा लागेका छौँ ।”

पालिकाभर धेरै मनमोहक र धार्मिक आस्था बोकेका स्थान तथा पर्यटकीय क्षेत्र रहेकाले पर्यटकीय सम्भावना देखाउन स्थानीयवासीलाई पनि जागरुक बनाइरहेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि रु पाँच लाख विनियोजन गरेको छ । प्यूठानको गौमुखी गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन भएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्