Logo

दिल्लीमा विद्यालयहरूलाई छिट्टै पूर्ण क्षमतामा खुल्ने मुख्यमन्त्री केजरीवालको विश्वास



२० माघ: भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका विद्यालयहरू पूर्ण क्षमतामा पुनः खोल्न सक्षम हुने आशा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

निजी विद्यालयका प्रिन्सिपलहरू र व्यवस्थापन अधिकारीहरूसँग मङ्गलबार गरेको छलफलमा उनले कोभिड–१९ विरूद्धको खोपहरू लगाउन थालिसकिएको र यसले विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।

केजरीवालले भने, “बच्चाहरू विद्यालय र कलेजमा फर्कन चाहन्छन् तर अभिभावक र शिक्षक चिन्तित छन् । महामारीविरूद्धको खोप आएको छ, हामी आशा गर्दछौं कि हामी छिट्टै विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सक्षम हुनेछौं ।” यस बर्ष नर्सरी भर्नाको बारेमा कुरा गर्दै उनले भने, “हामी छिट्टै नर्सरीमा भर्ना प्रक्रिया शुरु गर्नेछौं र क्रमशः अन्य कक्षाहरू पनि पूर्ण तथा सहज सञ्चालनमा आउनेछन् ।”

कोभिड–१९ को महामारीको कारण मार्च २०२० देखि दिल्लीमा विद्यालयहरू बन्द भएका थिए भने लामो समयको पर्खाइपछि विद्यालयहरूले अनलाइन कक्षाहरू त सञ्चालनमा ल्याएका छन् तर यसले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेको अभिभावक तथा विद्यालय सञ्चालकहरूको गुनासो रहेको छ ।

दिल्ली सरकारले आगामी बोर्ड परीक्षालाई ध्यानमा राख्दै जनवरी १८ देखि कक्षा १० र १२ को लागि विद्यालयहरू पुनः खोल्ने निर्णय गरेको छ यद्यपि बाँकी कक्षाका लागि, दिल्लीका विद्यालयहरू भर्चुअल मोडको माध्यमबाट पाठ्यक्रमलाई अघि बढाइरहेका छन् ।

“हाम्रो सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । शिक्षा हामी सबैको लागि महत्वपूर्ण छ । सन् २०२० मार्चमा हाम्रो सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको थियो,“ केजरीवालले भने । कार्यक्रमपछि विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक र अन्य संकाय सदस्यहरूले अरविन्द केजरीवाललाई राष्ट्रिय राजधानीमा शिक्षा क्षेत्र सुधार गर्न गरेको प्रयासको लागि धन्यवाद दिएका राज्य सरकारले बताएको छ ।

दिल्लीका मुख्यमन्त्री कार्यालयले ट्वीटरमा भनेको छ, “प्रिन्सिपल र शिक्षकहरूले शहरमा शिक्षाको अवस्था सुधार गर्न निरन्तर प्रयास गरिरहेकोमा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् ।”-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्