Logo

ओली-प्रचण्डबीच शक्ति प्रदर्शनको प्रतिष्पर्धा, बन्द हड्ताल देखि दिनहुँ सडक अवरोध



काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनले देशमा राजनीतिक अस्थिरता झन् बढ्दै गएको छ । नेकपाको दुवै समूह शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । हजारौंको सभा गर्दै आफूहरुसँग शक्ति रहेको देखाइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले सत्ताबाट हटाउन खोजेपछि नेकपाभित्र गहिरिएको संकट विभाजनमा पुगेर नयाँ मोडमा पुगेको हो । सत्ता संकट टार्न ओलीले प्रतिनिधि सभा विघटन नै गराएका थिए । त्यसपछि द्वन्द्व झन् चर्कियो ।
ओली पेलेरै जाने रणनीति अनुसार संवैधानिक अंगहरुमा नियुक्तिको सिफारिश गर्न पुगे । नियुक्तहरुलाई सपथ समेत गराएपछि नेकपाको प्रचण्ड-नेपाल समूह संघर्ष चर्काउने निर्णयमा पुगेको छ । उक्त समूहले आज आमहडतालको आव्हान गरेको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहले देशभर दैनिकजसो प्रदर्शन गर्दै आएको छ । संसद पुनःस्थापनाको माग राखेर उक्त समूहका युवा विद्यार्थी सडकमा उत्रदै आएका छन् ।

ओली समूहले पनि दैनिकजसो समर्थनमा विरोध प्रदर्शन गर्दै आएको छ । हिजो अनेरास्ववियूको ओली पक्षले मोटरसाइकल जुलुस निकालेको छ । त्यसले सडक जाम भएको थियो ।

२३ माघमा ओली समूहले नारायणहिटी अगाडि सभा राखेको छ । दरबारमार्गमा सभालाई भनेर पसल बन्द गर्न लगाइएको छ । काठमाडौं बाहिर पनि ओली समूहले सभा राख्दै आएको छ ।

यसैगरी, नेकपा विभाजनको बाछिटा अन्य दलमा समेत पर्न थालेको छ । नेपाली काँग्रेसलगायतका दलहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

नेत्रविक्रम चन्द विप्लव समूह पनि सक्रिय हुनथालेको छ । उक्त समूहले ८ माघमा बन्द गरिसकेको छ । देशमा दिनहुँजसो विरोध प्रदर्शन र सभा र शक्ति प्रदर्शनहरु हुन थालेपछि दैनिक जनजीवन प्रभावित बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्