काठमाडौं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए पनि आन्दोलनकारीले यातायातका साधनमा आगजनी र तोडफोड गरेपछि बन्द अपेक्षित रूपमा शान्तिपूर्ण हुन सकेन ।
बन्दका क्रममा आन्दोलनकारीले एउटा ट्याक्सी जलाइदिएको र ८६ वटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आमहडतालको आयोजना गरेको दाहाल–नेपाल समूहले भने आमहडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको छ । आन्दोलनका क्रममा जबर्जस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले सो पार्टीका नेता कार्यकर्तासहित १८८ जनालाई पक्राउ गरेको थियो ।
नेकपा प्रवक्तासमेत रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडताल सफल भएको दाबी गरेका छन् । आमहडतालका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारीले तोडफोड गरेपछि स्थिति अशान्त बनेको थियो । नेपाल बन्द गर्न पूर्वप्रधानमन्त्रीहरू सुरक्षा दलबलसहित आफैं खटिएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत बन्दमा जुटेका थिए ।
यातायात अवरुद्ध भएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बिरामीसमेत मर्कामा परेका थिए । देशभरका व्यापारिक संघसंगठनले पनि बन्दको विरोध जनाएका छन् । सरकारी दमको भत्र्सना गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्दै आन्दोलनका क्रममा सञ्चारकर्मीलाई परेको मर्काका लागि नेकपा दाहाल–नेपाल समूहले दुःख व्यक्त गरेको छ ।राजधानी दैनिकबाट