Logo

जलविद्युतको आईपीओ स्वीकृतिमा ढिलाइ



काठमाडौं, माघ २३ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन दिएको वर्षौं हुँदा पनि कम्पनीले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृति पाउन सकेको छैन ।

कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न २०७४ असार २७ गते बोर्डमा आवेदन दिएको थियो । त्यसको केही समयपछि २०७४ असोज २० गते मैलुङखोला जलविद्युत् कम्पनीले पनि ७ करोड ३६ लाख २८ हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा निवदेन दियो । तर, हालसम्म बोर्डले दुवैलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छैन । यी प्रतिनिधि कम्पनी हुन्, यीसहित बोर्डमा आईपीओ निष्कासनको अनुमति पर्खाइमा ८ कम्पनी वर्षौंदेखि पाइपलाइनमा बसेका छन् ।

वित्तीय तथा अन्य क्षेत्रका कम्पनीहरूले आवेदन दिएको १र२ महीनामा नै आईपीओ निष्कासनको स्वीकृति पाउँछन् । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले गत मङ्सिर ८ गते बोर्डमा आवेदन दिएर पुस १० गते नै आईपीओ स्वीकृति पाएको थियो । यसरी अन्य कम्पनीले महीना दिनमा नै आईपीओ निष्कासनको स्वीकृति पाउँदा जलविद्युत् कम्पनीहरूले भने वर्षौंसम्म पाइपलाइनमा बस्नुपरेको छ ।

धितोपत्र बोर्डले यसमा जलविद्युत् कम्पनीहरूको नै कमजोरी नै रहेको दाबी गरेको छ । आर्थिक अभियानसँग बोर्डका उपकार्यकारी निर्देशक रूपेश केसीले हाइड्रो पावर कम्पनीहरूबाट समयमा तोकिएको कागजपत्र नआउँदा आईपीओ स्वीकृतिमा ढिलाइ भएको बताए । सीईबीडी कम्पनीलाई आवश्यक कमेन्ट पठाएको वर्ष दिन हुँदा पनि कुनै प्रतिक्रिया नपठाएको उनको भनाइ छ । यस्तै, मैलुङखोला जलविद्युत् कम्पनीले विद्युत् नियमन आयोगको पूर्वस्वीकृति हालैमात्र पठाएको उनले बताए ।

‘जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिमा ढिलाइ गर्ने बोर्डको मनसाय होइन,’ उनले भने, ‘कम्पनीहरूले तोकिएको कागजपत्र नदिँदा नै ढिलाइ भएको हो । बोर्डका कारण ढिलाइ भएको होइन ।’

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने हचुवाको भरमा जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिन नसकिने बताए । आईपीओ निष्कासन गर्ने जलविद्युत् कम्पनीको आयोजना कम्तीमा पनि विद्युत् उत्पादनका लागि तयारी अवस्थामा भएको हुनुपर्ने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्