Logo

अध्यादेश ल्याएर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ : उमा रेग्मी



काठमाडौं, २७ माघ । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले मुलुकमा पछिल्लो समय बलात्कारपछि हत्याजस्ता जघन्य अपराधका घट्ना घटिरहेको सुनाउँदै दुःख व्यक्त गरेकी छिन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका वर्ष हुँदा पनि सरकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको गुनासो छ । उनले आफूहरुले सशक्त प्रतिकार गर्दापनि सरकारले नसुनेको बताईन् ।

भारतमा बलात्कार मात्रै हुँदापनि फाँसी दिईने गरेको सुनाउँदै नेपालमा किन त्यस्तो कानूनी व्यवस्था गर्न नसकेको भन्दै उनले प्रश्न गरिन् । उनले सरकारले अध्यादेश ल्याएर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिन् । उनले सरकारले आफूलाई आवश्यक पर्दा जतिसुकै बेला पनि अध्यादेश ल्याउने गरेको सुनाउँदै देशमा यत्रा जघन्य अपराध हुँदा किन गतिलो कानून बनाउन नसकेको भनेर प्रश्न गरिन् ।  उनले भनिन्,‘अब बलात्कार भयो भने मृत्युदण्ड हुन्छ भनेर प्रचारप्रसार गर्नुपर्छ । बलात्कारीलाई मृत्युदण्ड हुनुपर्छ ।’

संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने उनको माग छ । आफूहरुले पार्टीमा पनि सशक्त बहस चलाउने रेग्मीले जानकारी दिईन् । उनले बैतडीको दोगडाकेदार गाउँपालिका(७ कि १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्नुपर्ने पनि माग गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्