काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हिमचिम हिन्दुवादीसँग भएको भन्दै प्रश्न उठाएका छन् । उनले ओलीको धर्मसम्बन्धी गतिविधिले गम्भीर प्रश्नहरु उठेको समेत बताए ।
‘पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड दिएर जलप लगाउने कुरा गरेर के गर्न खोज्नुभएको ?’ अन्तर्राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरुसँग राजधानीमा आज अन्र्तक्रिया गर्दै प्रचण्डले प्रश्न उठाए,‘ केपी कम्युनिस्ट पार्टीको अध्यक्ष हुन् कि हिन्दु महासंघका अध्यक्ष हुन् ?’
प्रचण्डले ओलीको पशुपतिनाथ यात्रामाथि गम्भीर प्रश्न उठाए । उनले चितवनमा राम मन्दिर र अयोध्याको कुरा गरेर स्टन्ट मार्न खोजेको टिप्पणी गरे । चितवनमा राम जन्मभूमी हो भन्ने पुरातत्वविद्ले अन्वेषण गरी प्रमाणित गरेमा सबैभन्दा खुशी आफू हुने बताए । तर, ओलीले राजनीतिक फाइदा लिन मात्र बोलिरहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले माघको सोमबार पारेर पशुपतिनाथमा संकल्प पूजा गरेपछि राजनीतिकवृत्तमा तरंग आएको छ । उनले हिन्दुराष्ट्रको एजेन्डा उठाउन खोजेको विश्लेषण समेत भइरहेको छ । प्रचण्डले त्यसैतर्फ संकेत गरे ।
प्रचण्डको निर्वाचन क्षेत्र चितवन पुगेर ओलीले राम मन्दिर आगामी वर्ष शिलान्यास गर्ने बताएका थिए । उनले अयोध्यामा राम जन्मभूमी रहेको र आफ्नै निर्वाचन क्षेत्र भएपनि प्रचण्डले त्यसबारे नबोलेको भन्दै आलोचना गरेका थिए ।
ओलीको धार्मिक गतिविधिबारे प्रश्न गर्दै प्रचण्डले राज्य धर्म निरपेक्ष हुनुपर्नेमा आफूहरु प्रष्ट भएको बताए । जनताको धार्मिक आस्थालाई सम्मान गर्ने र आफूहरु धार्मिक स्वतन्त्रताको पक्षपाती रहेको स्पष्ट पारे ।