काठमाडौं, २८ माघ । ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार कर्माचायले अबका प्रदर्शनीहरु कार्यविधिभन्दा बाहिर गएर गर्न नपाइने जानकारी दिए । यसपालि नयाँ प्रयोग गरेर व्यवस्थित गरिएको र आगामी प्रदर्शनी पनि कर्याविधिअन्तर्गत नै रहने गरी सञ्चालन हुने उनको भनाइ छ ।
नेपाली ललितकलाको संरक्षण संवद्र्धन र प्रवद्र्धनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ को अधिनमा रही कार्यविधि बनाएर लागू गरिएको हो । आगामी वैशाख २ गते सञ्चालन हुने प्रदर्शनीको आवश्यक तयारीसमेत शुरु भइसकेको कुलपति कर्माचार्य बताउछन् । त्यसका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमितिहरु गठन गरेर कार्यप्रक्रिया थालिएको छ ।
मङ्गलबार बसेको मूल समितिको पहिलो बैठकले उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा कार्यकारी समिति बनेको र त्यसको मातहतमा रहने गरी अन्य उपसमितिहरु गठन गरिएको छ । “यसअघि चित्रहरु बुझाउनका लागि सार्वजनिक सूचना जारी गरिएको थियो मङ्गलबार भने औपचारिकरूपमा तयारी शुरु भएको छ, अब काम तीव्ररूपमा अघि बढ्छ”, कर्माचार्यले भने ।
गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरूपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले बताए । यसपालि भने भौतिक उपस्थितिमै र अनलाइन गरी दुवै प्रक्रियाद्वारा प्रदर्शनी गरिने जनाइएको छ ।
प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाई लागू गरिएको हो । तोकिएको नियम, मापदण्ड र कार्यविधिअनुसार प्रदर्शनी सञ्चालन हुँदा यसको गरिमा बढ्ने कलाकारको विश्वास छ । नाफाका अनुसार प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको जनाएको छ । यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरूपमा विधा तोकेको छ । सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ । प्रतिष्ठानले कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आ–आफ्ना कलाकृति बुझाउन सार्वजनिक सूचना जारी गरिएको थियो । पर्याप्त मात्रामा कलाकृति नआएपछि समयसीमा १५ दिन थपिएको कुलपति कर्माचार्यले बताए । रासस