काठमाडौं, २९ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकले आज संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन् । आज राजधानीको प्रज्ञा भवनमा उनीहरुले रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।
मोर्चामा १५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । पछि तीन सदस्य थप्ने गरी सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल केन्द्रीय समितिमा छन् । यो मोर्चाको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्ने जनाइएको छ ।
मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका छन् ।
रणनीतिक मोर्चाबाट केन्द्र देखि स्थानीय तहसम्म संगठन पुनः संरचना गर्ने तयारी गरिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएकोमा रणनैनिक मोर्चा गठन गरेर बढ्नुलाई महत्वका साथ लिइएको छ ।
यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।
तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल