Logo

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा



३० माघ : जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् ।

महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए ।

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले “महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्” भनेका थिए ।

मोरीले आफूले बोलेका कुराप्रति क्षमा माग्नु भएको छ । तर, उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ ।

मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ ।–सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्