काठमाडौं, ३० माघ । रुपेन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय मनोज थापा र सुमित चापागाईमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय चौलागाई र थापाले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले रकमसहित अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सर्वेक्षकद्वयलाई आपसी मिलेमतोमा सेवाग्राहीको जग्गा मुद्दामा जग्गा नापनक्सा गर्न आएवापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।