Logo

नेतादेखि पूर्व राजासम्मको भारत दौड किन ?



काठमाडौं, ३० माघ । देशमा राजनीतिक संकट गहिरिदै गर्दा नेता देखि पूर्व राजासम्मको भारत भ्रमणको सिलसिला चलेको छ । उनीहरु व्यक्तिगत, पारिवारिक र स्वास्थ्योपचारको कारण देखाउँदै भारत भ्रमणमा जान थालेका हुन् ।

आज नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल विहानै दिल्ली उडे । उनी स्वास्थ्योपचारका लागि भारत भ्रमणमा गएको जनाइएको छ । एपोलो अस्पतालमा जाने भनिएका खनाल चार दिन दिल्ली बस्नेछन् । त्यहाँ उनले केही महत्वपूर्ण भेटवार्ता समेत गर्ने बुझिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली छन् । उनी गत हप्ता स्वास्थ्य जाँचको लागि भन्दै दिल्ली पुगेका थिए । ठाकुर आउँदो हप्ता मात्र फर्कने जनाइएको छ । दिल्लीमा उनले महत्वपूर्ण भेटहरु गरिरहेको बुझिएको छ । उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौष महिनामा मुम्बई पुगेका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै गएका थिए । केही दिन भारत बसाईंपछि प्रचण्ड फर्किएका थिए । उनी मुम्बई उड्दा देशमा राजनीतिक संकट निकै गहिरिएको थियो । भारतबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद विघटन भारतको इशारामा गरेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाह पनि भारत भ्रमणमा जाने भएका छन् । उनी स्थगमार्गबाट भारत प्रवेश गर्ने बुझिएको छ । शाहको भ्रमण फागुनको तेस्रो या चौंथो हप्तामा हुने तय भएको छ । उनी सिलगुढी हुँदै दार्जिलिङ जाने बताइएको छ । तर, स्थलमार्गबाट भारत प्रवेश गरेर उनले केही राजनीतिक भेटहरु गर्नसक्ने बुझिएको छ ।

 

सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन दिने भारत भ्रमण यही माघ महिनामै गरेका छन् । उनले समकक्षी एस जयशंकरका अलावा भाजपाका प्रभावशाली नेता समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।

नेपालको राजनीतिमा प्रभाव राख्ने भारतको सहयोगका लागि सत्तापक्ष देखि विपक्षीले पनि पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै भारतलाई सहयोग र सद्भावका लागि आग्रह गरेका थिए । उनले बुधबार आयोजित विरोधसभामा भारतको सहयोगको अपेक्षा गरेको जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्