काठमाडौं, १ फागुन । पर्यटन प्रबर्द्धनका लागि महाकाली नदीमा बैतडीदेखि कञ्चनपुरसम्म र्याफ्टिङ सञ्चालन गरिने भएको छ । र्याफ्टिङ सञ्चालनका लागि कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालिले महाकाली नदीसँग जोडिएका तीन वटै जिल्लाका स्थानीय तहहरुसँग सम्झौता गरेको छ । धनगढीमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रालिले कञ्चनपुरको भीमदत्त, डडेल्धुराको परशुराम र बैतडीको दशरथ चन्द नगरपालिकासँग र्याफ्टिङ सञ्चालनका लागि सम्झौता गरेको हो ।
महामाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि भीमदत्त परशुराम, दशरथचन्द नगरपालिका र प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको परशुरामका नगर प्रमुख भीमबहादुर साउदले जानकारी दिए । उनकाअनुसार समझदारी पत्रमा भीमदत्तका तर्फबट कार्यबाहक नगर प्रमुख उत्तमबहादुर विष्ट, परशुरामकातर्फबाट नगर प्रमुख साउद, दशरथचन्दकातर्फबाट नगर प्रमुख नरेन्द्रसिंह थापा र प्रालिका तर्फबाट प्रबन्ध निर्देशक देवराज जैशीले हस्ताक्षर गरेका छन् । परशुरामका नगर प्रमुख साउदले र्याफ्टिङ सञ्चालनले सुदूरपश्चिमको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
यस्तै रुडुकका महासचिव ज्योत्सना साउद, निड्स कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी भट्ट, भीमदत्तका निमित्त प्रशासकीय अधिकृत हरिदत्त जोशी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत तारानाग पनेरु र दशरथचन्दका सामाजिक विकास शाखाका प्रमुख विनोदबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
रुडुक महासचिव साउदले प्राकृतिक स्रोतको सदुपयोग हुनु सकारात्मक भएको बताएकी छन् । उनले भनिन्, “हामीसँग पर्याप्त प्राकृतिक स्रोतहरु छन् । हामीले यी स्रोतहरुको सही सदुपयोग गर्न सक्यौं भनेमात्रै पनि सुदूरपश्चिम पर्यटन हब बन्नेछ । यस्ता किसिमका सकारात्मक कदमले सुदूरपश्चिमको आर्थिक र पर्यटन विकासमासमेत ठूलो टेवा पुग्नेछ ।”
उनले सुदूरपश्चिममा रोजगारीका अवसरहरुसमेत खुला गर्ने बताएकी हुन् । उनले थपिन्,“बैतडीदेखि कञ्चनपुरसम्म र्याफ्टिङ सञ्चालन भएलगत्तै सोही क्षेत्रमा स्थानीय कला संस्कृतिसहितको होमस्टे सेवा सञ्चालनका लागि पनि चाँडै नै छलफल सुरु गरिने छ । यसलाई पनि सँगसँगै अघि बढाउँदा ठूलो रोजगारीका अवसरहरु खुल्नेछन् ।”
महाकाली नदीमा बैतडीदेखि कञ्चनपुरसम्म र्याफ्टिङ सञ्चालनमा सहयोगी निकायका रुपमा स्थानीय साझेदार संस्थाहरु रुडेस, रुडुक र निड्स रहेका छन् । रुडेस दशरथचन्द, रुडुक पर्शुराम र निड्स भीमदत्त नगरपालिकामा कार्यरत छन् ।