नोबेल साहित्य विजेता टीएस इलियटले भनेका थिए,‘जेलाई हामी सुरुआत भन्छौं, त्यही अन्त्य हो । समाप्ति त्यहाँ छ, जहाँबाट हामी सुरु गर्छौं ।’ उनको ‘प्रेम’ को रहस्य भने ठीक उल्टो रहेछ । जीवन अन्त्यको ५५ वर्षपछि बल्ल त्यो खुलेको छ । अर्थात्, प्रेमिका एमिली हेललाई उनले लेखेका १ हजार १ सय ३१ प्रेमपत्र बाहिरिएका छन् ।
इलियटको निधन सन् १९६५ मा भएको थियो, हेलको १९६९ मा । आखिर के हो त त्यो प्रेमको रहस्य, जुन निधनको आधा शताब्दीपछि बल्ल देखा प¥यो ? एमिलीले आफूलाई इलियटले लेखेका ती सबै प्रेमपत्र सन् १९५६ मा प्रिङ्सटन युनिभर्सिटी लाइब्रेरीलाई उपहार दिइन् । विश्वविख्यात कविका रहस्यमयी प्रेमपत्र कुनै विश्वविद्यालयका लागि ठूलो सम्पत्ति नहुने कुरै भएन । प्रिङ्सटनले सहर्ष स्वीकार्यो । तर, एमिलीले एउटा सर्त राखेकी थिइन्–‘इलियट र ममध्ये जो ढिला बित्छौं त्यसको कम्तीमा ५० वर्षसम्म यसको सिलबन्दी नखोल्नु होला ।’
लाइब्रेरीले त्यसै ग¥यो । एमिलीको निधनको ५० वर्ष सन् २०१९ अक्टोबरमा पुग्यो । तर, १९७१ मा लाइब्रेरीले निर्णय गरेको थियो,‘पत्रहरू २०२० जनवरी २ मा मात्र खोलिनेछ ।’ लाइब्रेरियनलाई पहिला अध्ययनका लागि समय दिन उसले केही महिना राखेको हो । ती पत्र अझै एमिलीले हालेकै खाममा छन् ।
हुन पनि रातो रिबनले बाँधेका खामका चाङ युनिभर्सिटीले सुरक्षित ढंगले नछोई ६० वर्षभन्दा लामो समयसम्म जोगायो । र, बल्ल बिहीबार तिनलाई खोलेको छ । ‘सन् १९३० देखि १९५६ भित्रका पत्रहरू, जुन संसारकै गुप्त विख्यात साहित्य सम्पदा हुन्’, प्रिङ्सटन युनिभर्सिटी लाइब्रेरीले पत्र खोल्ने क्रममा विज्ञप्ति जारी गर्दै भनेको छ, ’यो साहित्यिक अनुरागी र अनुसन्धाताका लागि ठूलो उत्सवको क्षण हो ।’
अमेरिकाकै बोस्टनमा जन्मेकी एमिली वक्तृत्व र नाटककी शिक्षक थिइन् । नायिका र नाटक निर्देशकसमेत भइन् । इलियटसँग उनको पहिलो भेट सन् १९१२ मा भएको थियो । फेरि ३० को दशकमा जोडिएका उनीहरूको लामो पत्राचार भएको थियो । त्यो परिवार, आफन्त र साथीसङ्गी कसैलाई थाहा थिएन । खोलिएका पत्रमा के–के लेखिएका छन्, सार्वजनिक गरिएको छैन ।
‘म महिलै महिलामा पूर्णनिभर छु’, इलियटले कवि साथी कोन्राड एइकेनलाई सन् १९१४ मा भनेका थिए । उनको जीवनमा केही महिला जोडिए पनि– पहिली श्रीमती भिभिएन हाई–उड । घनिष्ठ साथी मेरी ट्रेभेलिन । निजी सहायक भेलेरी फ्लेचर, जो पछि दोस्री श्रीमती बनिन् । एमिली हेलको कथा भने अचम्मै गुप्त रह्यो ।
पहिलो श्रीमतीको निधनपछि उनले भेलेरीसँग बिहे गरेका थिए । तर, एमिलीसँग बिहे नगरेर गहिरो प्रेममात्र किन गरे, रहस्यमै छ । सम्भवतः पत्र बाहिरिएसँगै त्यसको जवाफ मिल्नेछ । इलियटले कविताको समकालीन योगदानका लागि सन् १९४८ मा नोबेल साहित्य पुरस्कार जितेका थिए । उनले दर्जनभन्दा बढी लोकप्रिय पुस्तक लेखेका छन् ।
उनका पत्रलाई वर्णानुक्रमानुसार मिलाइनेछ र डिजिटल इमेजका रूपमा राखिनेछ । त्यसपछि लाइब्रेरीमा सबैका लागि खुला गरिनेछ । तर, कपिराइट कानुनले रोक्ने भएकाले थप १५ वर्ष इन्टरनेटमा राखिने छैन । त्यतिन्जेल पत्रको फोटो खिच्नसमेत निषेध गरिनेछ ।
एजेन्सी