काठमाडौं, ३ फागुन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई अख्तियारले रकमसहित नियन्त्रणमा लिएको छ ।
नासु चन्दले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने दाहाललाई भेट्नु भनेकोमा सेवाग्राहीले दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ लिएर नासु चन्दलाई दिई सकेको अवस्थामा उक्त रकम सहित हिजो (आइतबार) नियन्त्रणमा लिएको थियो ।
विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।