Logo

तीन वर्षमा आर्थिक अवस्था सुधारको तथ्याङ्क यस्तो छ



फागुन ३, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आफूले सरकारको नेतृत्व सम्हाल्दा अर्थतन्त्र अस्तव्यस्त भएको उल्लेख गर्दै त्यसलाई सुधार्ने काम गरेको बताएका छन् । अन्यौलमा रुमलिएको अर्थतन्त्रले सरकार गठनको वर्षदिन पूरा हुँदा नहुँदै लय समात्न सफल भएको उनको जिकिर छ । तीन वर्षमा अर्थतन्त्रमा केके सुधार भयो त ? हेरौँ प्रधानमन्त्री ओलीले दावी गरेका तथ्याङ्कहरु ।

सरकारको पहिलो बर्षमा करीब ७ प्रतिशतको आर्थिक वृद्धि भयो । दोस्रो वर्ष ७ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि भयो । बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ले नेपाललाई १० उदीयमान र उच्च आर्थिक बृद्धिको बाटो समातेका मुलुकमा समावेश ग¥यो । अर्थतन्त्रका सबै क्षेत्रहरुको बृद्धिदर ५ प्रतिशतभन्दा माथि पुग्यो । सातवटै प्रदेशको आर्थिक बृद्धि ६ प्रतिशतभन्दा वढी थियो ।

यही बेला कोभिड–१९को महामारी आयो । यसले विश्व अर्थतन्त्रकोसंरचना नै भत्कायो । केही मुलुकहरुको बृद्धि नकारात्मक रह्यो, कति मन्दीको चपेटामा परे । कैयौं देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगे । नेपालको पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तीन बर्षको औसत बृद्धि साँढे पाँच प्रतिशतको हाराहारी रह्यो । कोभिड–१९ को असर घट्दै जाँदा अहिलेहाम्रो अर्थतन्त्र फेरि पुरानै लयमाफर्कदैछ । चालू आर्थिक बर्षको पहिलो ६ महिनाका केही तथ्याङ्कले अर्थतन्त्र, पुनः उच्च आर्थिक बृद्धिको बाटो समात्नेगरी चलायमान भइसकेको देखिन्छ । अर्को बर्ष, पन्ध्रौँ योजनाले प्रक्षेपण गरेको १० प्रतिशत हाराहारीको आर्थिक बृद्धिदर हासिल हुने सम्भावना प्रबल रहेको छ ।

यसै आर्थिक बर्षको पहिलो ६ महिनामा शोधनान्तर वचत रु. १२४ अर्ब पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अबधिमा यस्तो वचत रु. २६ अर्ब मात्र थियो । बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५ प्रतिशत छ । आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । बिप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । चाूल विदेशी विनिमय सञ्चिती अमेरिकी डलर १२ अर्ब ७८ करोड पुगेको छ ।

संघीय सरकारको खर्च रु.४१५ अर्ब ७५ करोड र राजस्व परिचालन रु.४२२ अर्ब २४ करोड भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशतले बृद्धि भएको छ । रु १८५ अर्ब बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको छ । तीन बर्षको अवधिमा सार्वजनिक खर्चको आकारमा झण्डै २९ प्रतिशतले बृद्धि भएको छ । सार्वजनिक बजेटकोआकार रू. १८६.६४ अर्बले बढेको छ ।

अमेरिकी डलरमा प्रतिव्यक्ति आय २३.६ प्रतिशत र नेपाली रुपैयाँमा ३५.२ प्रतिशतले बढेको छ । ९ लाख भन्दा बढी जनसंख्यालााई निरपेक्ष गरिबीको रेखाबाट माथि उकालिएको छ । यदि कोभिड–१९ को महामारी हुँदैनथ्यो भने यो संख्या १५ लाखभन्दा माथि हुने थियो । संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिवेदनले मानब बिकास सूचकाङ्कमा ५ प्रतिशत भन्दा बढीको बिन्दुगत बृद्धिले कोभिडको– १९ को चपेटामा पर्दा पनि नेपालमा गरिबी नबढेको, भोकमरी नरहेको देखाएको छ । अति छरिएको बस्ती र भौगोलिक रुपमा विकट ५ वटा बाहेक सबै स्थानीय तहमा बैक तथा वित्तीय संस्थाका शाखाहरू खुलेका छन्, बैंकिङ सेवा उपलब्ध छ ।

३ बर्ष अघि ७५३ मध्ये बैंक तथा वित्तीय संस्था पुगेका स्थानीय तहको संख्या ३७४ मात्र थियो । खोलौँ बैंक खाता अभियान अन्तर्गत पछिल्लो डेढ बर्षको अबधिमा मात्रै ६८ लाखभन्दा बढी बैंक खाता थप भएका छन् । बैंकिङ क्षेत्रवाट निजी क्षेत्रमा जाने कर्जा ७२ प्रतिशतले बढेको छ । व्यवसायिक आयकरको दायरा ३ बर्ष अघिको तुलनामा झण्डै ४ लाखभन्दा बढीले बढेको छ । बीमा सेवाको बिस्तार ८.७ प्रतिशतले बढेर २२.७ प्रतिशत पुगेको छ । राजश्व परिचालन १०० अर्ब भन्दा बढी भएको छ । कोभिड–१९ ले संसारकै आपूर्ति सञ्जाल रव्यवस्था खलबल्याउँदा पनि मूल्यबृद्धि ५ प्रतिशत भन्दा माथि गएको छैन । प्रदेश र स्थानीय विकासलाई रू. १,०४५ अर्ब अनुदान हस्तान्तरण गरिएको छ ।
(सोमबार प्रधानमन्त्रीले सार्वजनिक गरेको वर्तमान सरकारका तीन बर्षका प्रमुख उपलब्धिहरु शीर्षकको प्रेस ब्रिफिङबाट सभार )



प्रतिक्रिया दिनुहोस्