काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको स्पष्ट पारेका छन् । आज चितवनको भरतपुरमा निर्माणाधिन सिटी हलको निरीक्षण गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् । उनले भने,‘मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु मलाई प्रधानमन्त्री हुने लोभ नै छैनु, उनले भने, यो भ्रम कसैलाई नपरोस्। आन्दोलनको नेतृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत कुरा हो।’
प्रचण्डले प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्यस गर्नु आफ्नो र चितवनबासीको जित भएको बताए । दुई वर्षसम्म सिटीहल बनाउन नदिनका लागि प्रधानमन्त्री ओली नै मेहनत गरेर लागि परेको भन्दै भने–‘दुई÷तीन वर्ष सिटीहल नबनाउनका लागि मेहनत गरेको मान्छे आएर शिलान्यास गर्नुभयो, यो मेरो, यहाँका जनप्रतिनिधि र जनताको जित ठानेको छु, केपी विरोधी नै आएर शिलान्यास गर्दिनु त ठूलो कुरा हो नी ।’
उनले सिटीहल निर्माणका लागि आफूले २ वर्षसम्म ठूलो संघर्ष गरेको बताए । ‘सिटीहलको निर्माण र बजेटका लागि प्रधानमन्त्रीसंग धेरै ठूलो बहस र संघर्ष चल्यो, उहाँ सिटीहलको पक्षमा हुनुहुन्थेन’–प्रचण्डले भने । चितवनबाट विकासको मोडेल दिनुपर्छ भनेर निर्वाचन अघि गरेको प्रतिवद्धता अनुसार नै आफूले सिटीहल अघि बढाएको उनको भनाई थियो । File Photo