Logo

जापानी राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट



काठमाडौं, ५ फागुन । नेपालका लागि जापानी राजदूत मासामिची साईगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साईगोले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध सधैं सुमधुुर रहेको चर्चा गरे ।

उनले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजैदेखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख सापकोटाले यसका लागि जापानी सरकार र सबै जापानी जनतालाई बधाई ज्ञापन गरे । जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गरे ।

उनले समय प्रतिकुल भए पनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदुत साईगोलाई बधाई ज्ञापन गरे । भेटका अबसरमा राजदुत साईगोले नेपाल बसाइका क्रममा भएको सहयोगप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्