Logo

एनआरएनए अध्यक्ष पन्त र श्रममन्त्रीबीच भेटवार्ता, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितको विषयमा छलफल



 

 

काठमाडौं, ५ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशंकर चौधरीबीच आज भेटवार्ता भएको छ । उनीहरुबीचको भेटर्वार्तामा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका बिषयमा छलफल भएको जनाईएको छ ।

सुरुमा अध्यक्ष पन्तले संघको तर्फबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ती भएकोमा बधाई दिंदै मन्त्री चौधरीलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको र संघका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।

संघका तर्फबाट पन्तले मन्त्रीसमक्ष तीन प्रस्ताव राखेका थिए । पहिलो प्रस्तावमा वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुले जम्मा गरेका रकम उनीहरुका बृहत्तर हितमा प्रयोग गर्न पर्ने, दोस्रो प्रस्तावमा रोजगार सम्मेलनको आयोजना गर्ने र तेस्रो प्रस्तावमा रोजगारबाट प्राप्त बिप्रेषणको वित्तिय संस्थाहरुले प्राप्त गर्ने रकम मध्यबाट एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने रहेका छन् ।

पन्तले वैदेशिक रोगारीमा गएकाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनतम रु दश अर्बको सामूहिक लगानीको र श्रमिक बैंकको अवधारणा माथि समेत प्रकाश पारेका थिए । उक्त अवसरमा उपाध्यक्ष डा. बद्री केसीले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्डका प्रमुखहरु संग संयुक्त रुपमा बैठक आयोजना गर्नको लागि समेत अनुरोध गरे ।

उनले सम्मेलनलाई सार्थक बनाउन संघ तथा अन्य निकायहरुसंग वैदेशिक रोजगारीबाट फर्केकाहरुको सिपको तथ्यांक समेत रहेको औंलाउंदै वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउन पर्ने सुझाव पेश गरे । वैदेशिक रोजगारीमा रहेका र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुको राहत तथा उद्धारमा संघले गरेका कामका बारेमा परियोजना प्रवन्धक राजेन्द्र राउतले अवगत गराएका थिए ।

मन्त्री चौधरीले आफूहरु यस क्षेत्रमा नयां भएकोले धेरै बिषयहरुमा जानकारी लिंदै गरेको र वैदेशिक रोजगारका क्षेत्रमा संघका सुझावहरुका लागि अनुरोध गरेका थिए । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रकृया झन्झटिलो रहेकोले प्रकृया सरलीकृत गर्न मन्त्रालय लागेको अवगत गराए । उनले संघले अघि सारेको वैदेशिक रोजगार सम्मेलनको आयोजना गर्ने बिषयमा मन्त्रालय गम्भिर रहेको र छिटै सबै सरोकारवालाहरु बीच छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे । सो छलफलमा संघका उपध्यक्ष सोनाम लामा, लाप्राक परियोजनका सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्