एजेन्सी, ६ फागुन । भारतमा ३८ वर्षीया सबनम अलीलाई फाँसीको तयारी भएको छ । मथुरा जिल्लाको जेलमा भारत स्वतन्त्र भएपछि पहिलोपटक कुनै महिलालाई फाँसी दिइँदैछ ।
फाँसी पाउन लागेकी सबनम दुई वटा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । त्यो पनि अंग्रेजी र भूगोलमा । उनी हसनपुर गाउँकै सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेकीमा र्थिइन् । प्राथमिक विद्यालयमा शिक्षिका थिइन् । उनको परिवार नै शिक्षित थियो । बाबु कलेजका शिक्षक थिए । दाजुभाई पनि शिक्षित थिए ।
पढाईमा तेज सबनम सालिन पनि थिइन् । तर, उनी घर नजिकै काठ चिरानीमा काम गर्ने सलिमको प्रेममा पागल भइन् । दुवै प्रेममा यति गहिरिएकी शारीरिक सम्बन्ध पनि राखे । । सबनमको पेटमा सलिमको भ्रुण हुँर्कदै थियो । जसलाई उनले जेलमै जन्म दिइन् । सबनम सलिमसँग विवाह गर्न चाहन्थिइन् । त्यसले परिवारमा तनाव बढाएको थियो । यही तनाबका कारण उनी परिवार नै सखाप पार्ने योजनामा पुगिन् ।
सबनमले १४ र १५ अप्रिलको २००८ मा उत्तर प्रदेशको बावानखेदी गाउँमा परिवारका सात सदस्यको सामूहिक हत्या गरेकी थिइन् । हत्याको समयमा सबनम २५ वर्षकी थिइन् । कम पढेको र आर्थिक हिसाबले पनि सबनमको परिवारभन्दा कमजोर रहेकाले परिवारले विवाह गर्न दिइरहेको थिएन । जसका कारण उनीहरुको घरमा धेरै तनाव थियो । यही विवाद बढ्दै जाँदा सबनमले सलिमसँग मिलेर क्रुरतापूर्वक हत्या गरिन् । त्यो पनि आफ्नै परिवारका सात सदस्यको ।
सबनमले ५० वर्षीया आमा हस्मी अली, ५५ वर्षीय बाबु सौकत अली, ३५ वर्षीय दाजु अनिज, २५ वर्षीया भाउजु अन्जुम, २२ वर्षीय भाई रसिद, १४ वर्षीया बहिनी पर्ने रबिया र १० महिनाका भतिजा वर्षको हत्या पुष्टि भएको थियो । परिवारका सदस्यलाई दुधमा बेहोस हुने औषधी मिसाएर पिलाएपछि प्रेमी सलिमको सहायताले घाँटी रेटेर हत्या गरेकी थिइन् ।
१३ वर्ष अघिको यो घटनाको सुनुवाई गर्दै उत्तर प्रदेशको अमरोहा अदालतले फाँसीको सजाय सुनाएको थियो ।
११ वर्षबीच सबनम उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगिन् । उनी मृत्युदण्डको आममाफीका लागि राष्ट्रपतिसमक्ष निवेदन दिन पुगिन् । तर, सबैबाट अस्वीकृत भयो । अब उनलाई झुण्ड्याएर फाँसी दिइने भएको छ ।
१५० वर्ष अघि बनाइएको फाँसी दिने मथुरा जेलमा सबनम स्वतन्त्र भारतकी पहिलो महिला हुनेछिन् । तर, सबनमसँग अझै आममाफीका लागि निवेदन हाल्न सक्नेछिन् ।
फाँसीको पर्खाइमा रहेकी सबनमको १२ वर्षीय छोरा छन् । उनको नाम ताज राखिएको छ । ६ वर्ष अघि ताज जेलबाट निकालिएका छन् । नियमानुसार ६ वर्षको उमेरपछि जेलमा बस्न दिइदैन । ताजलाई सबनमकी कलेजकी साथी सैफीले पालनपोषण गर्ने गरी लगेकी थिइन् ।
सम्पन्न परिवारकी सबनमले सैफीलाई कलेज पढ्दा निकै आर्थिक सहयोग गरेर गुन लगाएकी थिइन् । त्यसैले उनले ताजलाई हुर्काउने जिम्मा लिइन् ।
ताजलाई पुख्र्यौली घर नलाने र नाम पनि परिवर्तन गर्ने अनुरोध सबनमले गरेकी थिइन् । ताज सैफीसँग हुर्किइरहँदा सबनम भने फाँसीको पर्खाइमा छिन् ।