काठमाडौँ, ७ फागुन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको पार्टी कार्यालयले जनाएको छ ।
स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका थिए । दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।-रासस/File Photo