Logo

उपचार भन्दै नेताहरुको धमाधम दिल्ली दौड



काठमाडौं, ९ फागुन । एक महिनायता राजनीतिक दलका प्रभावशाली नेताहरुको दिल्ली दौड चलिरहेको छ । देशको राजनीतिले अबको केही दिनमा कुन मोड लिने र्निक्योल हुन लाग्दा नेताहरुको दिल्ली दौड चलेको हो ।

आज प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि नयाँ दिल्ली पुगेका छन् । ट्युमर भएको आशंकापछि उपचारका लागि बाबुराम दिल्ली पुगेका हुन् । डा. भट्टराई यस्तो बेलामा दिल्ली पुगेका छन् जुनबेला नेपालको राजनीति नयाँ मोडमा पुगेको छ । प्रतिनिधि सभा विघटनपछि गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष नै धरापमा परेको छ । यो राजनीतिक प्रणाली ल्याउनुमा भट्टराईको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

बाबुरामले दिल्ली बसाईमा इन्स्टिच्युट अफ लिभर बाइलरी साइन्सेसमा उपचार गर्ने भनिएको छ । तर, उनले केही महत्वपूर्ण राजनीतिक भेट पनि गर्नेछन् । भट्टराई लामो समय भारतमा बसेर अध्ययन गरेका नेता हुन् । उनको त्यहाँका नेताहरुसँग राम्रो सम्बन्ध छ ।

यसअघि स्वास्थ्योपचारको लागि भन्दै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली पुगेका थिए । उनी एपोलो अस्पतालमा उपचारपछि गत हप्ता फर्किएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दिल्लीमा छन् । उनी दुई हप्ता अघि स्वास्थ्य जाँचको लागि भन्दै दिल्ली पुगेका थिए । उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौष महिनामा मुम्बई पुगेका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै गएका थिए । केही दिन भारत बसाईंपछि प्रचण्ड फर्किएका थिए । उनी मुम्बई उड्दा देशमा राजनीतिक संकट निकै गहिरिएको थियो । भारतबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद विघटन भारतको इशारामा गरेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाह पनि भारत भ्रमणमा जाने भएका छन् । उनी फागुनको अन्तिमतिर स्थगमार्गबाट भारत प्रवेश गर्ने बुझिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन दिने भारत भ्रमण यही माघ महिनामै गरेका थिए । उनले समकक्षी एस जयशंकरका अलावा भाजपाका प्रभावशाली नेता समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्