काठमाडौं, फागुन १० । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरिको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने काम सकाएको छ । अब जुनसुकै कुनाको माटोबाट जानकारी लिन कम्युटरमा एक क्लिक गरे पुग्छ । यसको औपचारिक उद्घाटन फागुन १२ गते गर्ने भएको छ ।
माटोको विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ)लाई प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्ने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूले आइतबार मन्त्रालयमा सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी नक्साङ्कन तयार गरिसकेको छ । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।