Logo

स्थायित्वका लागि संसद् पुनःस्थापना



मोरङ, फागुन १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले अहिलेको व्यवस्थाको स्थायित्वका लागि संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले अदालतले संविधानभित्रैबाट संसद् पुनःस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरेका हुन् ।

‘सर्वोच्च अदालतले संविधान र व्यवस्थाको स्थायित्व, मुलकमा शान्ति र जनताको समृद्धिको चाहनाअनुसार नै फैसला गर्छ भन्ने मलाई लाग्छ’, उनले भने– ‘यदि संसद् पुनःस्थापना भएन भने मुलुक द्वन्द्वमा फस्ने खतरा बढेर गएको छ ।’ सिटौलाले २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा माओवादी द्वन्द्व शुरु भएको र २०५९ सालमा शेरबहादुर देउवाले विघटन गर्दा राजतन्त्र समाप्त हुनेसम्मको अवस्था आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमाथि थिचोमिचो गरेको उनको आरोप छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री कुबाटोमा अगाडि बढेको उनले बताए। ‘पार्टीभित्रको झगडालाई लिएर संसद् विघटन गर्नु भनेको घरझगडापछि सबैको आस्था र विश्वासको सार्वजनिक मन्दिरमा आगो लगाए जस्तै हो, संसद् पनि जनताको मन्दिर हो ।’ –सिटौलाको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्