Logo

ओली-प्रचण्ड शक्तिसंघर्षले ‘हिन्दुवादी’ नयाँ शक्तिको उदय होला ?



समाचार विश्लेषण, १० फागुन । राजनीति सम्भावनाको खेल हो भन्ने यथार्थ नेपालको परिप्रेक्ष्यमा निकै सान्दर्भिक हुँदै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशमा केही यस्ता घटनाहरु विकास भए जुन सर्वसाधारणका लागि आश्चर्य पार्ने खालका थिए ।

१० प्रतिशतभन्दा बढी जनसंख्या सनातन भनिने हिन्दु र बौद्ध धर्म मान्ने जनता हुँदा हुँदै राष्ट्रको धर्म हुँदैन भन्दै धर्मनीरपेक्ष संविधान जारी गर्दा उल्लेख गरियो । तर, त्यही शब्दले नेपाली राजनीतिमा धर्मलाई जर्बजस्त प्रवेश गरायो । धर्मको मुद्दा लिएर केही शक्तिहरु प्रभाव बढाउँदै लग्न थाले । नेपाली काँग्रेसमा धर्मको मुद्दा बलियो भयो ।

‘धर्मलाई अफिम’ भन्ने कार्ल माक्र्सको सिद्धान्तलाई अँगिकार गरेका कम्युनिस्ट नेताहरु नै धर्मास्त्रको प्रयोग गर्न थाले । प्रधानमन्त्री केपी शर्मा ओली नै धर्मास्त्रको प्रयोग गर्न थाले । पशुपतिमा सुनको जलहरी चढाउने देखि संकल्प पूजा सम्म गर्न पुगे । उनी राम मन्दिर बनाउने विषयलाई राजनीतिक मुद्दा नै जसरी प्रस्तुत भए ।

प्रचण्डसँग पार्टी एकीकरण गर्ने केपी शर्मा ओलीको कदम नै आश्चर्य पार्ने खालको थियो । शान्ति प्रक्रियको समयमा ओली प्रचण्डको सबैभन्दा कटु आलोचक थिए । कटुतालाई भुलेर दुवैले हातेमालो गरे । तर, त्यो लामो समय टिकेन ।

भारी बहुमतको सरकार चलाइरहेका ओलीले प्रतिनिधि सभा नै विघटन गरेर प्रचण्ड र माधवकुमार नेपाललाई आश्चर्यमा पारेका थिए । ओलीले आफ्नो सत्ता ढाल्न खोजेको भन्दै प्रचण्ड र नेपालको हातमा देश जानुभन्दा बरु तेस्रो शक्तिको हातमा जाओस् भन्ने उद्देश्यका साथ आक्रोशको निर्णय गरेका थिए । त्यसपछि उनको पार्टी विभाजित भएको छ ।

अहिले राजनीतिक भविष्य सर्वोच्च अदालतको फैसलाको हातमा पुगेको छ । सम्भवत यसै हप्ता संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा फैसला गर्नेछ । यो मुद्दा पक्ष या विपक्ष जेमा आएपनि देशको राजनीति नयाँ मोडमा पुग्नेछ ।

प्रतिनिधि सभा पुनःस्थापना हुने गरी फैसला आएमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट बढ्नेछ । सम्भवत उनको सत्ता ढल्नेछ । त्योसँगै उनले गरेका नियुक्ति र निर्णयहरु पनि धरापमा पर्नेछन् । यसले विभिन्न नियुक्ति र निर्णयहरुलाई नै उल्टाउन सक्छ । योसँगै राजनीतिमा कडा टकराव पर्न सक्छ ।

प्रतिनिधि सभा बिघटनको पक्षमै फैसला भएमा पनि देश मुठभेडमै जाने देखिन्छ । प्रचण्ड र माधव नेपाल समूह सडक संघर्ष चर्काउनेतर्फ सक्रिय हुने देखिन्छ । यस्तो चेतावनी प्रचण्डले सार्वजनिक रुपमै गरेका छन् । चुनावको सम्भावना कमजोर भई देश झन् अस्थिरतातर्फ धकेलिनसक्छ ।

संसद विघटनको मुद्दाको किनारा लाग्दै गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी वार्ता र संवादमा आउन लागेको छ । विप्लवले नै सार्वजनिक रुपमा यसबारे प्रष्ट पारिसकेका छन् । विप्लव राजनीतिमा तानातानको अवस्थामा पुगे । प्रधानमन्त्री ओलीले विप्लवलाई विशेष प्रस्ताव गरेर आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । यसले उनी शान्तिपूर्ण राजनीतिक मूलधारमा शर्तसहित आउनसक्ने सम्भावना छ ।

यसरी कम्युनिस्ट पार्टी इतिहासमै बलियो बनेर विभाजनसँगै मुठभेडमा पुग्दा राजनीति नयाँ मोडमा पुगेको छ । कम्युनिस्टहरुको शक्ति संघर्षले नेपालको राजनीतिक अर्को नयाँ शक्तिको उदय हुने सम्भावना उत्तिकै बढेको छ ।

सोभियत संघ विघटन हुँदा मिखालय गोर्वाचोभ राष्ट्रपति थिए । आफूमाथि कू गर्न खोज्दा विपक्षीलाई ठेगान लगाउन गम्भीर कदम चाले । कम्युनिस्टहरुको शक्तिसंघर्षले बोरिस यल्तसिन हुँदै भ्लादिमिर पुटिनको उदय भयो । नेपाली राजनीतिमा धर्मको मुद्दाले ऊर्जा पाउँदै गर्दा कम्युनिस्ट प्रधानमन्त्रीले धर्मास्त्र प्रयोग गरिरहेका छन् । यसले नयाँ शक्तिको उदय हुने सम्भावना देखिदै गएको छ ।

देशमा धार्मिक विचारबाट प्रभावित भई दल खुल्ने विषय जोडतोडका साथ उठिरहेको छ । हिन्दुवादी दलको चर्चा चलिरहेको छ । यस्तो शक्तिको उदयको मार्ग कम्युनिस्ट नेताहरुको शक्तिसंघर्षले प्रशस्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्