Logo

कर्णालीमा किशोरी उमेरमै गर्भपतन गर्ने सख्या धेरै



कर्णाली, १० फागुन । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य भइन् । गर्भपतन गराउँदा उनको पेटमा आठ हप्ताको गर्भ थियो । गर्भपतनका साथै प्रेमीको मायाप्रेमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिकरूपले विक्षिप्त भइन् । उनले अहिले रोकिएको पढाइलाई निरन्तरता दिएकी छिन् ।

लहैलहैमा लागेर किशोरीले प्रेम सम्बन्ध राख्ने र प्रेमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ । उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् । टिपिओ नेपाल सुर्खेतका मनोपरामर्शकर्ता शर्मिला बिसी किशोरीमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउछिन्। “ग्रामीण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन, त्यसको सिकारमा किशोरी÷महिला पर्ने गर्छन्, उनी भन्छिन्, “जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ ।” यसले कतिपय महिलामा डिपे्रसन (मानसिक अवसाद)को समस्या देखापर्ने गरेको छ ।

मनोपरामर्शकर्ता शर्मिलासँग बन्दाबन्दीका बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ । “स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना पे्रमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभयो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ गर्यौ शर्मिला भन्छिन्, “गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उहाँ अझै तङ्ग्रिन सक्नुभएको छैन ।” यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भ्रूणको गर्भपतन गराएकी थिइन् । उनीलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ । शर्मिला भन्छिन्, “सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्नेथिइन् किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन ।”

गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन् । नेपालको कानूनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो । त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, ‘बिहेवारी २० वर्ष पारि’ तर कर्णालीमा उमेर नपुगी गरिने बिहेअर्थात् बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरी उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन् । तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा वृत्तिविकासमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । प्रेमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरी गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन् ।

सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतका अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउछिन् । “पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ”, उनले भनिन्, “सुरक्षित गर्भपतनसम्बन्धी कानूनी व्यवस्था र सेवाको सहज उपलब्धताका कारण हामीकहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रूपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ ।” उमेर नपुग्दै गरिने गर्भपतनले महिला मानसिक तथा शारीरिकरूपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्