Logo

फेरि घट्यो सेयर



काठमाडौं, फागुन १२ । मंगलबार सेयर बजारमा निकै ठूलो उतारचढाब देखियो। यस दिन २६३२ अंक पुगेको सेयरबजार लगातार घटेर २५१९ अंकसम्म झर्‍यो। यो ११३ अंकको विशाल उतारचढाब हो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आकस्मिक भेट भएको सन्दर्भलाई लिएर ‘सैनिक शासन’को हल्ला फिँजाएपछि सेयर बजारमा यस्तो प्रवृत्ति देखा पर्‍यो।

लगातार सेयर बजार घटाएर दिउँसो १ बजेपछि पुनः माग बढाइएको थियो। अन्तिम दुई घण्टामा बजार सूचकलाई ६७ अंक उचालियो र अघिल्लो दिनको तुलनामा २१ अंक तल बजार बन्द गरियो। राजनीतिक वृत्तमा तत्काल विकास हुने यस्ता परिघटनालाई सेयर बजारकाट लाभ लिन प्रयोग गर्ने प्रवृत्ति पुरानै हो। यसअघि पनि निर्वाचनको परिणाम वा प्रधानमन्त्री र अर्थमन्त्रीको नियुक्तिजस्ता विषयलाई पनि सेयरबजारमा लाभ लिने हतियारका रूपमा प्रयोग गर्ने गरिएको थियो।

संवेदनशील सूचनालाई सेयर बजारमा उपयोग गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय स्तरमा पनि निकै बलियो छ। दुई देशबीचको द्वन्द्व चर्कंदा होस् वा ब्रिटेनमा जनमत संग्रहको मत परिणाम आउँदा, अमेरिकामा चुनावी परिणाम आउँदा र उत्तरकोरियाले क्षेप्यात्र परीक्षण गर्दा पनि विश्व सेयर बजार प्रभावित हुने गरेको थियो। यस्ता घटनामा बढी जोखिम लिने मनोबल भएका लगानीकर्ताले कमाउने र जोखिम लिन नसक्ने नवप्रवेशीले गुमाउने सम्भावना हुन्छ।

मंगलबार नेपाली सेयर बजारमा पनि त्यस्तै प्रवृत्ति देखिएको सेयर विश्लेषक बताउँछन्। धेरैले अब बजार वियरिस ट्रेन्ड ९घट्दो प्रक्रिया०मा जान सक्ने आकलन गरेर सेयर बेचे। तर अन्तिममा बजार सूचकले ‘यु टर्न’ मार्‍यो। मंगलबार कारोबार रकमभने घटेन। यस दिन ८ अर्ब ५६ करोडभन्दा धेरैको सेयर व्यापार भयो। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्