Logo

सेवा विस्तार गर्दै दमौली अस्पताल



दमौली, १२ फागुन । दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो ।

दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । थाइराइड परीक्षणका लागि अस्पतालले निजी ल्याबभन्दा ४० प्रतिशत कम शुल्कमा सेवा दिने अधिकारीले बताए ।

गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जानु पर्दैन”, अधिकारीले भने ।

अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रियाका लागि पनि पहल भइरहेको छ । “शल्यक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको छ, त्यसपश्चात् आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानु पर्दैन”, उनले भने । दमौली अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये दैनिक तीनजनालाई शल्यक्रियाका लागि पोखरा सिफारिस गर्ने गरिएको छ ।

त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल सोबाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्स–रे मेशिन सञ्चालनमा ल्याइएको छ । सो मेसिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । मेशिनलाई करीब रु ५० लाख पर्छ । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो ।

अस्पतालका नेत्ररोग विशेषज्ञ डा सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताए। दन्तरोग विशेषज्ञ डा सुनिल सुवेदीले शुरुआती दिनमा दाँतको सेवा दिन कठिनाइ रहे पनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको जानकारी दिए ।

विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । अध्यक्ष अधिकारीका अनुसार सरकारले ३५ श्यया खरीदका लागि बजेट उपलब्ध गराइसकेको छ । “सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्यका लागि अस्पताल सुधारको काम गरिरहेका छौँ, नयाँ नयाँ उपकरण थप भइरहेको छ”, उनले भने ।

अस्पतालमा हालै मात्र प्रसूतिरोग विशेषज्ञको समेत व्यवस्था भएको छ । यससँगै अस्पतालबाटै प्रसूति सेवासमेत शुरु भएको छ । यस अगाडि पनि अस्पतालमा प्रसूति सेवा सञ्चालनमा रहे पनि विशेषज्ञ चिकित्सिकको सरुवा भएपछि उक्त सेवा रोकिएको थियो ।

दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले अस्पतालको ल्याब पूर्ण स्वचालित बनाइएको जानकारी दिए । उनका अनुसार सघन उपचार कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “अस्पताल सुधारका धेरै काम भएका छन्, यसले गर्दा सर्वसाधारणले सहजरुपमा सेवा प्राप्त गर्न सक्ने अवस्था बनेको छ”, उनले भने ।

अस्पतालमा केही समय अगाडि एनेस्थेसिया उपकरण जडान गरिएको थियो । विना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलोसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । २०३४ सालमा स्वास्थ्यचौकीका रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्